काठमाडौं – सङ्घीय संसद्अन्तर्गत संसदीय सुनुवाइ समितिको बैठक आज बिहान ११ बजे सिंहदरबारस्थित संसद् भवनमा बस्दैछ।
राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्षमा हुने बैठकमा प्रमुख निर्वाचन आयुक्त तथा निर्वाचन आयुक्त पदका लागि प्रस्तावित व्यक्तिहरूसम्बन्धी प्राप्त उजुरीमाथि छलफल गरिनेछ। साथै, प्रस्तावित उम्मेदवारहरूले पेस गरेका कार्ययोजना सदस्यहरूलाई वितरण गर्ने कार्यसूची पनि रहेको छ।
गत असार १९ गते बसेको संवैधानिक परिषद्को बैठकले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की तथा निर्वाचन आयुक्तमा डा. राजीव सुब्बा र गुरुप्रसाद वाग्लेलाई नियुक्तिका लागि सिफारिस गरेको थियो।
संवैधानिक व्यवस्थाअनुसार संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि प्रस्तावित पदाधिकारीहरूको नियुक्ति राष्ट्रपतिबाट हुनेछ।










