नेकपा (एमाले) ले आफ्नो ११औं महाधिवेशन काठमाडौंमा गर्ने निर्णय गरेको छ। शनिबार बसेको सचिवालयको ५९औं बैठकले यसअघि तय गरिएको स्थल पोखराबाट परिवर्तन गर्दै काठमाडौंलाई अन्तिम रूपमा चयन गरेको हो।
पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार, केन्द्रीय कमिटीको दसौं बैठकले पोखरामा गर्ने निर्णय गरेको महाधिवेशन स्थल आजको सचिवालय बैठकले परिवर्तन गरेको हो।
एमालेको दसौं केन्द्रीय कमिटी बैठकले मंसिर २७, २८ र २९ गते ११औं महाधिवेशन आयोजना गर्ने निर्णय गरिसकेको छ।
एमालेको दसौं महाधिवेशन २०७८ मंसिरमा चितवनमा भएको थियो। त्यसअघि ९औं महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा र पाँचौं महाधिवेशन पनि काठमाडौंकै प्रज्ञा भवनमा सम्पन्न भएको थियो।










