काठमाडौं । नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङ काठमाडौं आइपुगेका छन् । उनी कार्यभार सम्हाल्न शुक्रबार बिहान एअर चाइनाको सिए ४३७ उडानमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका हुन् ।
चिनियाँ विदेश मन्त्रालयको एसियाली मामिला विभागका उप–महानिर्देशक चाङ जनवरी महिनाको सुरुमा राजदूत नियुक्त भएका थिए । नेपाल आएलगत्तै राजदूत चाङले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्ने छन् । परराष्ट्र मन्त्रालयका अनुसार त्यसलगत्तै चाङले कार्यभार सम्हाल्ने छन् ।
नेपालको आन्तरिक तथा वाह्य मामिलाबारे जानकारी राख्ने चिनियाँ कूटनीतिज्ञका रूपमा उनी परिचित छन् । पछिल्लो समय नेपालको राजनीतिमा पश्चिमी देश हाबी भइरहेका बेला नयाँ चिनियाँ राजदूतको आगमनलाई अर्थपूर्ण रूपमा लिइएको छ । चुनावको मुखमै चीनले नयाँ राजदूत नेपाल पठाएको हो ।










