काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीका मन्त्री र सांसदहरूको कार्यशैली तथा व्यवहारप्रति प्रश्न उठेको भन्दै सुधार गरेर जिम्मेवार ढंगले काम गर्न निर्देशन दिएका छन्।

बुधबार सिंहदरबारमा मन्त्री तथा सांसदलाई एकै ठाउँमा राखेर भएको छलफलमा लामिछानेले सरकार सञ्चालन र पार्टीको काममा थप सचेत, जिम्मेवार र जवाफदेही बन्न निर्देशन दिएका हुन्।

लामिछानेले मन्त्रीहरूलाई सांसदले आफ्ना क्षेत्रका समस्या लिएर आउँदा त्यसलाई उचित ढंगले सम्बोधन गर्न आग्रह गरेका छन्। अबदेखि सांसदहरूले समस्या लिएर जाँदा सम्बोधन नभएको गुनासो नआउने गरी काम गर्न उनले निर्देशन दिएको ओखलढुंगाका सांसद विश्वराज पोखरेलले बताए।

ADVERTISEMENT

यस्तै, मन्त्रीहरूबाट कुनै गलत काम भएको पाइएमा प्रमाणसहित सभापतिको सचिवालयमा लिखित जानकारी गराउन सांसदहरूलाई लामिछानेले निर्देशन दिएका छन्।

ADVERTISEMENT

उनले सांसदहरूले आफ्ना जिल्लाका समस्या प्रभावकारी रूपमा उठाउनुपर्ने र मन्त्रीहरूले ती समस्या समाधानका लागि आवश्यक पहल गर्नुपर्ने बताए। पार्टी र सरकार दुवैतर्फ जिम्मेवारीपूर्वक काम गर्नुपर्नेमा उनले जोड दिएका छन्।

ADVERTISEMENT

लामिछानेले सरकार तथा पार्टीबारे बाहिर आएका हल्ला र प्रचारबाजीमा नलाग्न पनि मन्त्री तथा सांसदलाई आग्रह गरेका छन्। पार्टीलाई एकताबद्ध बनाएर नागरिकका अपेक्षा पूरा गर्ने दिशामा केन्द्रित हुनुपर्ने उनको भनाइ थियो।

यसैबीच, बैठकमा ग्यास अभाव र खरिद व्यवस्थापनबारे समेत छलफल भएको छ। उद्योगमन्त्रीले आधा सिलिन्डरका कारण केही समस्या देखिएको जानकारी दिँदै केही दिनभित्र समस्या समाधान हुने बताएकी थिइन्।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ग्यास खरिदका लागि ३२ अर्ब रुपैयाँ बजेट छुट्याइएको र अन्तर्राष्ट्रिय परिस्थितिका कारण आगामी दिनमा थप रकम आवश्यक पर्न सक्ने बताएका थिए।