काठमाडौं । नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ मेड-इन-नेपाल ह्युन्डाई भेन्यु (VENUE) र भेन्यु एन लाइन (VENUE N Line) सार्वजनिक गरेको छ।
नयाँ डिजाइन, उन्नत प्रविधि, प्रदर्शन र सुरक्षालाई प्राथमिकता दिइएको नयाँ भेन्युले कम्प्याक्ट एसयूभी सेग्मेन्टमा थप नयाँ अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ।
मेड-इन-नेपाल भेन्यु आकर्षक तथा सशक्त एसयूभी डिजाइनमा उपलब्ध छ। यसमा ट्विन हर्न एलईडी डीआरएल, होराइजन एलईडी रियर ल्याम्प, पावर्ड टिल्ट एन्ड स्लाइड सनरुफ, १०.२५ इन्चको इन्फोटेनमेन्ट डिस्प्ले तथा ६ वटा एयरब्यागलगायतका सुविधा छन्।
भेन्युमा १.२ लिटर पेट्रोल र १.० लिटर टर्बो पेट्रोल इन्जिनका विकल्प उपलब्ध छन्। यी इन्जिनले आरामदायी ड्राइभिङसँगै दक्षता र प्रदर्शन प्रदान गर्ने कम्पनीको दाबी छ।
त्यस्तै, भेन्यु एन लाइनले भेन्युको लाइनअपमा थप स्पोर्टी तथा विशिष्ट शैली प्रस्तुत गरेको छ। यसमा एन-ब्रान्डेड सिट, एन-ब्रान्डेड अलोय ह्विल, सिग्नेचर रेड हाइलाइटसहितको बडी-कलर क्ल्याडिङ तथा विभिन्न एन लाइन स्टाइलिङ एलिमेन्ट समावेश छन्।
भेन्यु एन लाइनले भेन्युमा उपलब्ध प्रविधि, आराम र व्यावहारिकतालाई कायम राख्दै थप स्पोर्टी तथा गतिशील ड्राइभिङ अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ।
मेड-इन-नेपाल ह्युन्डाई भेन्युको सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ रहेको छ। यो HX 2 (१,१९७ सीसी पेट्रोल), HX 5+ (१,१९७ सीसी पेट्रोल) र HX 5 DCT (९९८ सीसी पेट्रोल) गरी तीन भेरियन्टमा उपलब्ध छ।
त्यस्तै, भेन्यु एन लाइनको सुरुवाती मूल्य ६७ लाख ९६ हजार रुपैयाँ निर्धारण गरिएको छ।
मेड-इन-नेपाल ह्युन्डाई भेन्यु र भेन्यु एन लाइन नेपालभरका ह्युन्डाई शोरुममा उपलब्ध रहेको कम्पनीले जनाएको छ। ग्राहकले नजिकको ह्युन्डाई शोरुममा पुगेर नयाँ मोडलको डिजाइन, प्रविधि र ड्राइभिङ अनुभवबारे जानकारी लिन सक्नेछन्।





