काठमाडौँ : नाइमा मोबिलिटी एक्स्पो–२०२६ को तयारी पूरा भएको छ। आजदेखि हुने एक्स्पोमा ५१ स्टलमार्फत् ५५ भन्दा बढी ब्रान्ड सहभागी हुनेछन् भने ४० भन्दा बढी नयाँ मोडल तथा सवारीसाधन सार्वजनिक गरिने आयोजकले जनाएको छ।

एक्स्पोमा २० लाखदेखि साढे ३ करोड रुपैयाँसम्म मूल्य पर्ने विद्युतीय सवारी प्रदर्शनमा राखिनेछन् । दुईपांग्रेतर्फ १८ र चारपांग्रेतर्फ २९ नयाँ ब्रान्डको सहभागिता रहनेछ।

बिवाइडी, निसान, टाटा, टोयोटा, हुन्डाई, किया र महिन्द्रालगायत स्थापित ब्रान्डसँगै फोर्थिङ, डोङफेङ, लिपमोटर र म्याक्ससले पनि सहभागिता जनाउनेछन् । पारामाउन्ट मोटर्सले ८ र टोयोटाले २ नयाँ मोडल सार्वजनिक गर्दै छन्।

ADVERTISEMENT

टोयोटाले एक्स्पो अवधिमा गाडी खरिदमा ३ लाखदेखि २१ लाख रुपैयाँसम्म छुट दिने घोषणा गरेको छ। एक्स्पोमा चारपांग्रे, दुईपांग्रे तथा तीनपांग्रे सवारीसँगै कमर्सियल भेहिकल, विद्युतीय तथा हाइब्रिड मोबिलिटी सोलुसन, चार्जिङ प्रविधि र अन्य आधुनिक मोबिलिटी उत्पादन प्रदर्शन गरिनेछन् । पारामाउन्टको स्टलमा होङ्ची गुओली मुख्य आकर्षणका रूपमा रहनेछ।

ADVERTISEMENT

गत वर्ष १ लाखभन्दा बढी आगन्तुकले अवलोकन गरेको एक्स्पोमा यस पटक त्योभन्दा बढी आगन्तुक भित्र्याउने लक्ष्य आयोजकको छ । एक्स्पोको ब्लु पेभिलियनमा अगस्ट ११ देखि १६ सम्म दैनिक दिउँसो २ देखि ४ बजेसम्म लर्निङ सेसन सञ्चालन हुनेछ।

वैदेशिक प्रत्यक्ष लगानी, इथानोल ब्लेन्डिङ, रिसाइक्लिङ, फाइनान्सिङ तथा युवा उद्यमशीलतालगायत विषयमा छलफल हुने आयोजकले जनाएको छ । नेपाल प्रहरी र ग्रान्डी अस्पतालको सहकार्यमा प्रत्येक बिहान ‘दुर्घटनापछिको सुरक्षा र प्रतिक्रिया’ सम्बन्धी तालिम तथा युवा उत्प्रेरणा कार्यक्रमसमेत सञ्चालन गरिनेछ।