काठमाडौं — समस्याग्रस्त घोषित कर्णाली विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) निरजविक्रम शाहसहित तीन जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी अंगुर जिसीका अनुसार पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका–१२ का सीईओ शाह, सोही स्थानकी ३९ वर्षीया दीपा थापा र ४३ वर्षीया सुभेच्छा श्रेष्ठ रहेका छन्।

उनीहरू बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका थिए। पक्राउ परेका तीनै जनालाई शुक्रबार नै थप कारबाहीका लागि उच्च अदालत तुल्सीपुरको नेपालगञ्ज इजलासमा उपस्थित गराइएको प्रहरीले जनाएको छ।

ADVERTISEMENT

कर्णाली विकास बैंकलाई समस्याग्रस्त घोषणा गरेपछि नेपाल राष्ट्र बैंकले यसको व्यवस्थापन आफ्नो नियन्त्रणमा लिएको थियो। राष्ट्र बैंकद्वारा खटाइएको व्यवस्थापन समूहका जुगल किशोर कुशवाहाको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान अघि बढाउँदै मुद्दा दायर गरेको थियो।

ADVERTISEMENT

प्रहरीका अनुसार सुरुमा पक्राउ नगरी अनुसन्धान गरिए पनि हाल उनीहरूलाई पक्राउ गरी अदालतमा उपस्थित गराइएको हो।