काठमाडौं — नेपालमा यस वर्षको मुख्य बाली धानको रोपाइँ अन्तिम चरणमा पुगेको छ। कृषि विभागका अनुसार साउन २२ गतेसम्म देशभर धान रोप्न योग्य कुल क्षेत्रफलको ९५.५ प्रतिशत भूभागमा रोपाइँ सम्पन्न भएको छ।
विभागको तथ्याङ्कअनुसार १३ लाख ७० हजार ६२ हेक्टर धान खेती हुने क्षेत्रफलमध्ये हालसम्म १३ लाख ८ हजार ३ सय ८३ हेक्टरमा रोपाइँ सकिएको छ।
गत वर्ष साउन २५ गतेसम्म देशभर ९१.३१ प्रतिशत मात्र रोपाइँ भएको थियो। यस वर्ष भने सोही अवधिभन्दा रोपाइँको गति उल्लेखनीय रूपमा बढेको विभागले जनाएको छ।
विशेषगरी मधेश प्रदेशमा उल्लेखनीय सुधार देखिएको छ। गत वर्ष यही अवधिमा ६६.५४ प्रतिशत मात्र रोपाइँ भएकोमा यस वर्ष ९४.६५ प्रतिशत पुगेको छ। यसले धान उत्पादनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
प्रदेशगत विवरणअनुसार सुदूरपश्चिम प्रदेशमा शतप्रतिशत रोपाइँ सम्पन्न भएको छ। त्यहाँ १ लाख ५४ हजार ९ सय ५० हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको छ।
अन्य प्रदेशमा बागमतीमा ९७.८२ प्रतिशत, कर्णालीमा ९६.८२ प्रतिशत, गण्डकीमा ९५.५७ प्रतिशत, लुम्बिनीमा ९४.८३ प्रतिशत, मधेशमा ९४.६५ प्रतिशत र कोशीमा ९३.६९ प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि विभागले जनाएको छ।





