काठमाडौं । कमिसन घटाउन र उचित भाडा दर निर्धारण गर्न माग गर्दै राइड सेयरिङ कम्पनी इन्ड्राइभ, पठाउ, यांगोलगायत राइड सेयरिङसँग आबद्ध चालकहरूले प्रदर्शन गरेका छन् ।

कमिसन बढी र भाडा दर कम भएको गुनासो गर्दै चालकहरूले शुक्रबार इन्ड्राइभको कुपण्डोलस्थित कार्यालयअगाडि प्रदर्शन गरेका हुन् । स्वतन्त्र चालक फाउण्डेसन नेपालको अगुवाइमा चालकहरूले आन्दोलन थालेका हुन् ।

प्रदर्शनका क्रममा चालकहरूले ‘भाडा कम, कमिसन बढी अब सहँदैनौँ’, ‘श्रमको मूल्य देऊ, राइडरको जीवन सुरक्षित गर्’, ‘कमिसन घटाऔँ, न्याय बढाऔँ’, ‘हामी चुप लागेर बस्दैनौँ, अन्याय सहेर बस्दैनौँ’ र ‘राइडरको शोषण बन्द गर’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

ADVERTISEMENT

फाउण्डेसनकी अध्यक्ष रेश्मा बिसुन्केका अनुसार सरकारले नयाँ आर्थिक वर्षदेखि लागू गरेको ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) को भारसमेत चालकहरूले व्यहोर्नुपरेको छ । पुरानै भाडा दरअनुसार कमिसन तिर्नुपर्दा चालकहरू थप मारमा परेको उनको भनाइ छ ।

ADVERTISEMENT

चालकहरू तीन दिनदेखि आन्दोलनमा छन् । दुई दिन ललितपुरमा प्रदर्शन गरेका उनीहरूले आज काठमाडौंको माइतीघर मण्डलामा समेत प्रदर्शन गरेका छन् ।
चालकहरूले राइड सेयरिङ सेवामा वैज्ञानिक तथा उचित भाडा दर निर्धारण गर्न, कम्पनीले लिने कमिसन घटाउन र चालकको श्रमको उचित मूल्य सुनिश्चित गर्न माग गरेका छन् ।