काठमाडौं । सरकारले राष्ट्रसेवक कर्मचारीहरूको नयाँ तलबमान स्वीकृत गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अर्थ मन्त्रालयले साउन ६ गते पठाएको नयाँ तलबमान १५ दिनपछि स्वीकृत गर्दै कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाएको हो।

नयाँ तलबमानअनुसार अब मुख्य सचिवले सबैभन्दा बढी ९० हजार ५ सय ९४ रुपैयाँ मासिक तलब पाउनेछन्। सबैभन्दा कम तलब प्रथम तहका कार्यालय सहयोगीले २८ हजार ९ सय ८४ रुपैयाँ पाउने व्यवस्था गरिएको छ।

यसैगरी, नेपाली सेनाका प्रधान सेनापतिले पनि मुख्य सचिवसरह ९० हजार ५ सय ९४ रुपैयाँ तलब पाउनेछन् भने प्रहरी महानिरीक्षक (आईजीपी) को मासिक तलब ८४ हजार ५ सय ७६ रुपैयाँ निर्धारण गरिएको छ।

ADVERTISEMENT

सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत साउनदेखि लागू हुने गरी राष्ट्रसेवक कर्मचारीको आधारभूत तलबमा १० प्रतिशत वृद्धि गरेको छ। साथै, १० प्रतिशत प्रोत्साहन भत्ता थप्ने व्यवस्था पनि गरिएको छ।

ADVERTISEMENT

पेन्सन प्राप्त गर्ने निवृत्त राष्ट्रसेवकहरूको हकमा भने १० प्रतिशत पेन्सन वृद्धि लागू हुने सरकारको निर्णयमा उल्लेख छ।