काठमाडौं । रास्वपा सांसद राजुनाथ पाण्डेको अगुवाइमा सेनाको ब्यारेकमा डोजर चलाइएको छ ।

काठमाडौं–३ का सांसद पाण्डेको नेतृत्वमा गोकर्णेश्वर नगरपालिका–४ अन्तर्गत माकलबारीदेखि गोकर्णेश्वर महादेव मन्दिरसम्मको सडक क्षेत्रमा पर्खाल भत्काउने क्रममा ब्यारेकसँग जोडिएको संरचनामा समेत डोजर चलाइएपछि विवाद उत्पन्न भएको छ।

ADVERTISEMENT

सोमबार पर्खाल भत्काउने काम भइरहेका बेला सेनाका अधिकृतसहितको टोली घटनास्थल पुगेको थियो। सैनिक अधिकारीहरूले ब्यारेकसँग सम्बन्धित पर्खाल भएकाले तत्काल काम रोकेर आवश्यक समन्वय, ब्यारेकको सुरक्षा व्यवस्था र प्राविधिक छलफल गर्न आग्रह गरेका थिए। तर, सांसद पाण्डे स्थानीय जनप्रतिनिधि तथा केही स्थानीयवासीले सेनाको ब्यारेकको सुरक्षा व्यवस्था नगरी पर्खाल हटाउने काम निरन्तर अघि बढाउनुपर्ने अडान लिएका थिए।

पाण्डेमाथि सैनिक अधिकारीको आग्रहका बाबजुद सुरक्षा संवेदनशीलता नै नबुझी जबर्जस्ती पर्खाल भत्काउन निर्देशन दिएको आरोप लागेको छ। पाण्डेले प्रत्यक्ष रूपमा जबर्जस्ती त्यस्तो निर्देशन दिएको भिडियो सामाजिक सञ्जालमा अहिले भाइरल बनेको छ ।

ADVERTISEMENT

सेनाको ब्यारेक रहेको स्थानमा पर्खाल भत्काउनुअघि नेपाली सेनालाई औपचारिक जानकारी नदिइएको तथा कुनै लिखित पत्राचार र संस्थागत समझदारीसमेत नगरिएको बताइन्छ। सैनिक अधिकारीहरूले केही समय काम रोकेर सम्बन्धित निकायबीच छलफल गर्न आग्रह गरे पनि उक्त आग्रहलाई बेवास्ता गरिएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

सडक विस्तार, सार्वजनिक जग्गा संरक्षण वा अतिक्रमित संरचना हटाउने काम स्थानीय तहको अधिकारक्षेत्रभित्र पर्न सक्छ। तर सुरक्षा संवेदनशील सैनिक क्षेत्रसँग जोडिएको संरचना हटाउँदा नेपाली सेना, स्थानीय प्रशासन, नगरपालिका र अन्य सम्बन्धित निकायबीच पूर्वसमन्वय आवश्यक हुन्छ।

घटनापछि नेपाली सेनाका बहालवाला तथा अवकाशप्राप्त केही सैनिकहरूले सामाजिक सञ्जालमा आक्रोश व्यक्त गरेका छन्। उनीहरूले घटनालाई ‘सैनिक ब्यारेकको सुरक्षा घेरामाथिको जबर्जस्ती हस्तक्षेप’ भन्दै आलोचना गरेका छन्। विकास र सडक विस्तार आवश्यक भए पनि सुरक्षा निकायसँग संवाद र समझदारी नगरी सैनिक क्षेत्रको पर्खालमा डोजर चलाउनु गम्भीर विषय भएको उनीहरूको तर्क छ।

उनीहरूले सांसद पाण्डेले जनप्रतिनिधिको जिम्मेवार भूमिका निर्वाह गर्नुको साटो बलपूर्वक संरचना हटाउने शैली अपनाएको आरोपसमेत लगाएका छन्।

पाण्डे यसअघि काठमाडौं महानगरपालिकाको नगर प्रहरी प्रमुख थिए। महानगर प्रहरीको नेतृत्वमा रहँदा उनी संरचना हटाउने अभियान र कडा कार्यशैलीका कारण विवादमा पनि आएका थिए। उनको राजनीतिक तथा व्यावसायिक पृष्ठभूमि महानगरभित्रका संरचना हटाउने अभियानसँग समेत जोडिएको छ।