काठमाडौं । पूर्वअर्थमन्त्री रामेश्वर खनालले उद्यमी–व्यवसायीको घर तथा कार्यस्थलमा छापा मार्ने शैलीप्रति असन्तुष्टि जनाएका छन्।
प्रतिष्ठित व्यापारिक घराना देवनारा समूहको विराटनगरस्थित घर र कार्यालयमा सोमबार बिहान पौन ५ बजे प्रहरीले आकस्मिक छापा मारेपछि खनालले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका हुन्।
देवनारा समूहको नेतृत्व उद्योगी प्रकाश मुन्दडाले गरिरहेका छन्। समूहअन्तर्गत हाल आधा दर्जन उद्योग सञ्चालनमा छन्। घटनाप्रति टिप्पणी गर्दै खनालले लेखेका छन्, ‘उद्यमी–व्यवसायीको घर, कार्यस्थलमा छापा मार्ने काम गतिलो होइन ।’
प्रत्यक्षदर्शीका अनुसार प्रहरीले मुन्दडाको घर र कार्यालयलाई चारैतिरबाट घेराबन्दी गर्दै साढे पाँच घन्टा सिल गरेको थियो। आसपासका सडक तथा आवतजावतसमेत नियन्त्रणमा लिइएको थियो।
प्रहरीले घर र कार्यालयमा खानतलासी गरे पनि कुनै आपत्तिजनक सामग्री वा प्रमाण फेला पार्न सकेन। प्रहरीले सोमबार दिउँसो विज्ञप्ति जारी गरी आफूहरूलाई प्राप्त सूचनाका आधारमा छापा मारेको तर केही फेला नपरेको जनाएको छ । बिहान करिब १० बजेतिर प्रहरी टोली त्यहाँबाट खाली हात फर्किएको थियो।
यो घटनापछि निजी क्षेत्रप्रति राज्यको व्यवहार, अनुसन्धानको शैली तथा लगानीमैत्री वातावरणबारे बहस सुरु भएको छ। पूर्वअर्थमन्त्री खनालको टिप्पणीलाई पनि त्यही सन्दर्भमा अर्थपूर्ण रूपमा हेरिएको छ। वर्तमान सरकारले पहिले थुन्ने र पछि सुन्ने नीति लिएको देखिएको छ ।
सोमबारको घटना पनि त्यसकै उपज भएको मानिन्छ । विराटनगरका उद्योगी व्यवसायीले राज्यले आतंक सिर्जना गरेको आरोप लगाएका छन् ।




