काठमाडौं । निर्देशक झरना थापाको आगामी फिल्म ‘ए मेरो हजुर ५’ को छायांकन सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य बडिमालिकाबाट सुरु हुने भएको छ। फिल्मको छायांकन आगामी साउन २९ गतेबाट सुरु हुने निर्देशक थापाले जानकारी दिएकी छन्।
सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री बालेन शाह, कलाकार सुहाना थापा र अनमोल केसीसँगको तस्वीर सार्वजनिक गर्दै थापाले फिल्ममार्फत बडिमालिकाको पर्यटन प्रवर्द्धनमा योगदान पुग्ने विश्वास व्यक्त गरेकी छन्। उनका अनुसार सुदूरपश्चिमका लुकेका पर्यटकीय गन्तव्यलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चिनाउने उद्देश्यले छायांकन बडिमालिकाबाट सुरु गर्न लागिएको हो।
फिल्मको छायांकन सञ्जय लामाले गर्नेछन्। निर्देशक थापाले बडिमालिकाजस्तो धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाबाट फिल्मको यात्रा सुरु गर्न पाउँदा आफूहरू गौरवान्वित भएको उल्लेख गरेकी छन्।
उनले बडिमालिका केवल धार्मिक तीर्थस्थल मात्र नभई नेपालको पर्यटन, संस्कृति र राष्ट्रिय पहिचानको महत्वपूर्ण धरोहर भएको बताउँदै यस्ता स्थललाई चलचित्रमार्फत प्रवर्द्धन गर्नुपर्ने आवश्यकता औँल्याएकी छन्।
सुहाना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने ‘ए मेरो हजुर ५’ मा सुहाना थापा र अनमोल केसी मुख्य भूमिकामा देखिनेछन्। यसअघि पनि उनीहरूले ‘ए मेरो हजुर’को तेस्रो र चौथो श्रृंखलामा जोडीका रूपमा अभिनय गरेका थिए।




