काठमाडौं । म्यानमाकी नजरबन्दमा रहेकी लोकतान्त्रिक नेतृ आङ सान सुकीले सोमबार अन्तर्राष्ट्रिय रेडक्रस समिति (आईसीआरसी) का प्रतिनिधिसँग भेटवार्ता गरेकी छन्। सन् २०२१ मा सैन्य ‘कू’पछि सुकीले कुनै विदेशी प्रतिनिधिसँग सार्वजनिक रूपमा गरेको यो पहिलो भेट हो।
राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार म्यानमास्थित आईसीआरसीका आवासीय प्रतिनिधि आर्नोद डे बाकले सोमबार बिहान सुकीसँग भेट गरेका हुन्।
सन् २०२१ फेब्रुअरीमा सेनाले सुकी नेतृत्वको निर्वाचित सरकारलाई अपदस्थ गर्दै सत्ता कब्जा गरेपछि उनलाई पक्राउ गरी विभिन्न आरोपमा जेल चलान गरिएको थियो। त्यसयता म्यानमामा गृहयुद्ध चर्किएको छ।
सीमित र नियन्त्रित निर्वाचनपछि सैन्य प्रमुख मिन आङ ह्लाइङ अप्रिलमा नागरिक राष्ट्रपति बनेका थिए। त्यसपछि उनले सुकीको बाँकी सजाय घटाएर उनलाई घरमै नजरबन्दमा राख्ने निर्णय गरेका थिए।
८१ वर्षीया सुकीमाथि लगाइएका आरोपहरूलाई मानवअधिकारवादी समूहहरूले राजनीतिक उद्देश्यले प्रेरित र बनावटी भएको दाबी गर्दै आएका छन्।
राष्ट्रपति कार्यालयले सार्वजनिक गरेका तस्बिरमा सुकीले आईसीआरसी प्रतिनिधिसँग हात मिलाएको र जन्मदिनको केक काटेको देखिन्छ। यद्यपि, समाचार संस्था एएफपीले ती तस्बिरको स्वतन्त्र पुष्टि गर्न नसकेको जनाएको छ। प्रारम्भिक एआई विश्लेषणमा भने तस्बिरमा कृत्रिम हेरफेर भएको स्पष्ट प्रमाण फेला नपरेको उल्लेख गरिएको छ।




