काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगन्जमा भएको हिंसात्मक घटनापछि त्यसको प्रभाव मधेसका अन्य जिल्लामा समेत देखिएको छ।
सुरक्षा अवस्था संवेदनशील बन्दै गएपछि सुनसरी, धनुषा र सिराहाका विभिन्न क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको छ भने पर्साको वीरगन्जमा निषेधाज्ञा लागू गरिएको छ।
सुनसरीमा साउन ११ गतेदेखि लागू कर्फ्युलाई जिल्ला प्रशासन कार्यालयले देवानगञ्ज, कप्तानगञ्ज, महेन्द्र राजमार्ग आसपास तथा इनरुवा बजार क्षेत्रमा विस्तार गरेको छ।
यस्तै, जनकपुरमा प्रदर्शन चर्किएपछि जिल्ला प्रशासन कार्यालय धनुषाले बिहीबार दिउँसो ३:३० बजेदेखि जनकपुरधाम उपमहानगरपालिकाभित्र अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलका अनुसार जनकपुरधाम उपमहानगरपालिकाका सबै क्षेत्र, लक्ष्मीनिया गाउँपालिका र नगराइन नगरपालिकाका केही क्षेत्रमा कर्फ्यु लागू गरिएको छ।
जिल्ला प्रशासन कार्यालय सिराहाले पनि बिहीबारदेखि लहान, गोलबजार र चोहर्वा क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको जनाएको छ।
यसैबीच, प्रदर्शन हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समितिको निर्णयअनुसार पर्साको वीरगन्जमा बिहीबार साँझ ५ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म निषेधाज्ञा जारी गरिएको छ।
जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार वीरगन्ज महानगरपालिकाभित्र प्रतिमा चोक, बसपार्क बाइपास रोड, तिलावे पुल, गण्डक चोक र शंकराचार्य गेट आसपासका क्षेत्रमा पाँच जनाभन्दा बढी भेला हुन, सभा, जुलुस तथा प्रदर्शन गर्न रोक लगाइएको छ।







