काठमाडौं । सिरहामा गोली लागेर मृत्यु भएका गणेश यादवको घरमा गृहमन्त्री सुधन गुरुङको भ्रमण रोक्न स्थानीय जनप्रतिनिधिले आग्रह गरेका छन्।

औरही गाउँपालिका–२ का वडाध्यक्ष रामअयोधी यादवका अनुसार जिल्लाको सुरक्षा अवस्था सामान्य नभएकाले प्रमुख जिल्ला अधिकारी (सीडीओ) मार्फत गृहमन्त्रीलाई तत्काल मृतकको घरमा नआइदिन अनुरोध गरिएको हो।

ADVERTISEMENT

‘गृहमन्त्रीलाई तत्काल मृतकको घरमा नआइदिन सीडीओलाई फोन गरेर अनुरोध गरेका छौँ,’ वडाध्यक्ष यादवले भने, ‘उहाँ यहाँ आउनुभयो भने अवस्था झन् बिग्रन सक्छ। ठूलो संख्यामा युवाहरू गृहमन्त्रीलाई रोक्न मृतकको घरमा जम्मा भएका छन्।’

ADVERTISEMENT

उनका अनुसार पीडित परिवारले पनि आफ्ना माग सम्बोधन गर्ने स्पष्ट प्रतिबद्धता सीडीओमार्फत् आएपछि मात्र गृहमन्त्रीसँग भेटघाट गर्ने अडान राखेको छ।

गृहमन्त्री गुरुङ भने सुनसरीबाट सप्तरी हुँदै सिरहातर्फ प्रस्थान गरेका छन्। बिहीबार सिरहाको गोलबजारमा गोली लागेर गणेश यादवको मृत्यु भएको थियो।

ADVERTISEMENT

यसअघि बिहीबार सुनसरी पुगेका गृहमन्त्री गुरुङले शुक्रबार बिहान गोली लागेर मृत्यु भएका दुई युवाका आफन्तसँग भेट गरी सहमति गरेका थिए। त्यसपछि आफन्तले शव बुझिसकेका छन्।