सिरहा। सिरहाको गोलबजार नगरपालिका–७ स्थित पुरानो चौक चोहर्वा क्षेत्रमा रहेको पशु हाटबजार परिसरको खाल्डोमा जमेको पानीमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ।
मृत्यु हुनेमा अवास शेखका १२ वर्षीया छोरी सबनम खातुन, १० वर्षीया छोरी रुबिना खातुन र ७ वर्षीय छोरा साइफुल शेख रहेका छन्।
प्रहरीका अनुसार रौतहटको जिगरवा स्थायी घर भएका अवास शेख करिब तीन दशकदेखि गोलबजार–७ मा परिवारसहित बसोबास गर्दै आएका छन्। उनी घर भाडामा बस्दै कवाडी संकलन गरेर जीविकोपार्जन गर्दै आएका थिए।
आइतबार दिउँसो करिब २:३० बजे घरबाट खेल्न निस्किएका तीनै बालबालिका पशु हाटबजार परिसरमा रहेको खाल्डोमा जमेको पानीमा नुहाउने क्रममा डुबेका थिए। उक्त खाल्डो गाई, गोरु र भैंसीजस्ता पशुलाई पानी खुवाउन बनाइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
घटनापछि स्थानीयवासी र सुरक्षाकर्मीले बालबालिकाको उद्धार गरी उपचारका लागि अस्पताल पुर्याएका थिए। तर चिकित्सकले तीनै जनालाई मृत घोषणा गरेका छन्।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।






