सिरहा। सिरहा सदरमुकामस्थित जिल्ला अदालत अगाडि रहेको ‘मधेश ल फर्म’मा बुधबार दिउँसो बम विस्फोट भएको छ। विस्फोटमा एक जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी रमेशबहादुर पालका अनुसार दिउँसो करिब ४:१५ बजे भएको विस्फोटमा फर्ममा काम गर्ने सहयोगी सौरव यादव घाइते भएका हुन्। उनको हातको औँला र खुट्टामा सामान्य चोट लागेको छ। उनलाई उपचारका लागि प्रादेशिक अस्पताल लगिएको प्रहरीले जनाएको छ।
बारको कार्यालय भवनको सटर भाडामा लिएर अधिवक्ता मधुसुदनप्रसाद यादवले सञ्चालन गर्दै आएको उक्त फर्ममा विस्फोट भएको प्रहरीको भनाइ छ।विस्फोट सुतली बम हो वा अन्य प्रकारको हो भन्ने अझै यकिन भइसकेको छैन। प्रहरीका अनुसार घटनास्थल वरपर वा कोठाभित्र कुनै पर्चा–पम्प्लेट फेला परेको छैन।घटनापछि प्रहरी र नेपाली सेनाको टोली घटनास्थलमा पुगेको छ। चोहर्वास्थित नन्दाबक्स गणबाट बम निष्क्रिय पार्ने टोली पनि बोलाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
विस्फोटपछि केही समय क्षेत्र आसपास त्रासको अवस्था सिर्जना भए पनि अहिले स्थिति सामान्य रहेको प्रहरीले बताएको छ।





