काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई संसदीय समितिले जवाफ दिन बोलाएको छ ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा सहभागी भएर फर्किने क्रममा मिडियासँग नबोल्ने भन्दै मुखमा औंला राखेर हिँडेपछि उनी चर्चामा आएका थिए ।
केही समयअघि मिडियासँग नबोल्ने घोषणा गरेका पुनले बिहीबार संसद भवन परिसरमा सञ्चारकर्मीले सोध्दा चुपको इसारा गर्दै बोल्न अस्वीकार गरे । सदनबाहिर बोल्न नमानेका मन्त्री पुनलाई जवाफ दिन आज संसदीय समितिले बोलाएको छ । २ बजे बस्ने प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विधेयकमा मन्त्री पुनको जवाफ लिनेछ ।
समितिको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ का सम्बन्धमा छलफल हुने कार्यक्रम छ । बैठकमा मन्त्री पुनलाई आमन्त्रण गरिएको छ ।
केही समयअघि एउटा युट्युबमा अन्तर्वार्ता दिने क्रममा मन्त्री पुनले ट्राफिक नियम उल्लंघन गर्नेलाई ५० हजारभन्दा बढी जरिवाना लगाउनुपर्ने भनेका थिए । त्यसको केही दिनमै एक हजारको चिट काटेपछि मुगुका गणेश नेपालीले आत्मदाह प्रयास गरेका थिए ।
लगत्तै उनको मृत्यु भएपछि मन्त्री पुनले आफूले अबदेखि कुनै पनि मिडियालाई अन्तर्वार्ता नदिने मात्र होइन, आफूलाई मिडिया नै चाहिँदैन भनेर फेसबुकमा स्टाटस लेखेका थिए ।





