काठमाडौं । पत्रकारमाथि धरपकड र सञ्चारगृहमा प्रहरी प्रवेश गराइएको घटनालाई वर्तमान सरकारको असंवैधानिक कदम भन्दै पत्रकार नेताहरूले आक्रोश व्यक्त गरेका छन्।

शनिबार काठमाडौंको संवाद डबलीमा आयोजित अन्तरक्रियामा उनीहरूले प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेपले सरकारको कार्यशैली शाहीकालीन शासनको झल्को दिने बताएका छन्। सञ्चारमाध्यममाथि नियन्त्रणको प्रयासले सरकारलाई नै अप्ठ्यारोमा पार्न सक्ने उनीहरूको चेतावनी थियो।

ADVERTISEMENT

नेपाल प्रेस युनियनका महासचिव दिलीप पौडेलले सरकारको कदमले प्रेस स्वतन्त्रतामाथि प्रत्यक्ष हस्तक्षेप गरेको आरोप लगाए। उनले बालेन सरकार गठन भएलगत्तै सञ्चारमाध्यमको विज्ञापन रोकेर आर्थिक नाकाबन्दी गरिएको र त्यसपछि पत्रकार पक्राउ गर्ने क्रम बढेको दाबी गरे।

ADVERTISEMENT

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सरकारका गलत कदम ढाकछोप गर्न सञ्चारजगत्माथि प्रहार गरिएको आरोप लगाए। ‘कानुनी राज्य कसैको सनकले चल्दैन। बालेनजी सनकी तानाशाह बन्न खोजेको हो भने यो देशमा संविधान छ, कानुन छ। तपाईंको भारदारी प्रथा चल्दैन,’ उनले भने।

पत्रकारलाई गैरकानुनी रूपमा पक्राउ गरेर समाचार स्रोतबारे सोधपुछ गर्नु आपराधिक चरित्र भएको त्रिपाठीको टिप्पणी थियो। स्वतन्त्र प्रेस लोकतन्त्रको आधार भएको उल्लेख गर्दै उनले पत्रकारलाई नियन्त्रणमा लिएर समाचार स्रोत खोज्नु संविधानविपरीत हुने बताए।

प्रेस सेन्टर नेपालका उपमहासचिव बुद्ध लोप्चनले लोकतन्त्रको मुख्य रक्षक सञ्चारमाध्यमलाई आतंकित बनाउने कार्य भर्त्सनायोग्य भएको बताए। पत्रकारलाई नियन्त्रणमा लिने घटनाले सरकारको दिशा र उद्देश्यबारे गम्भीर प्रश्न उठाएको उनको भनाइ थियो।

मोटिभेट न्यूजका प्रधानसम्पादक शोभराज बरालले आफूलाई आफ्नै कार्यालयबाट नियन्त्रणमा लिएर प्रहरीले समाचारको स्रोतबारे सोधपुछ गरेको बताए। संविधानले नै समाचार स्रोतको संरक्षणको व्यवस्था गरेकाले आफूले स्रोत खुलाउन अस्वीकार गरेको उनले जानकारी दिए।

त्यस्तै, डीएनए खबरका सम्पादक धिरज बस्नेतले ईसेवा स्क्यामको विषयमा भन्दै आफूलाई झुक्याएर अपराध महाशाखा पुर्‍याइएको दाबी गरे। त्यहाँ आफूलाई नियन्त्रणमा लिएर प्रहरी महानिरीक्षकसम्बन्धी समाचारको स्रोतबारे केरकार गरिएको उनले बताए। पक्राउका पछाडि प्रहरी प्रमुखभन्दा प्रधानमन्त्री कार्यालयको निर्देशन हुन सक्ने आशंकासमेत उनले व्यक्त गरे।

‘गणतन्त्रको दुई दशकमा पनि शाहीकालीन झल्कोले हामीलाई आक्रोशित बनाएको छ। पत्रकारलाई हल्कारूपमा लिनु दुर्भाग्य हो,’ बस्नेतले भने।