काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सुनसरीलगायत देशका केही स्थानमा उत्पन्न सामुदायिक तनाव र हिंसात्मक घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै सम्पूर्ण नागरिकलाई संयमता अपनाउन आग्रह गरेकी छन्।
बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत उनले वर्तमान संवेदनशील परिस्थितिमा कुनै पनि प्रकारका अफवाह, घृणात्मक अभिव्यक्ति तथा सामाजिक सद्भाव खलबल्याउने गतिविधिबाट टाढा रहन सबै नेपालीलाई अपिल गरेकी हुन्।
भण्डारीले सरकारले घटनाको निष्पक्ष, पारदर्शी र विश्वसनीय छानबिन गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्नुपर्ने बताएकी छन्। साथै, पीडितलाई न्याय सुनिश्चित गर्दै प्रभावित क्षेत्रमा शान्ति, सुरक्षा र नागरिकको विश्वास पुनःस्थापित गर्न आवश्यक सबै कदम चाल्न सरकार, प्रशासन र सुरक्षा निकायलाई आग्रह गरेकी छन्।
उनले सामाजिक सद्भाव, आपसी सहिष्णुता र राष्ट्रिय एकतालाई कायम राख्न सबै पक्षले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएकी छन्।





