काठमाडौं — नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिले विद्युत् महसुल पुनरावलोकन तथा विगतका खरिद प्रक्रिया र सञ्चालित आयोजनाको छानबिन गर्न दुई छुट्टाछुट्टै उच्चस्तरीय समिति गठन गरेको छ।
बुधबार बसेको सञ्चालक समितिको बैठकले उपभोक्तालाई सहुलियत प्रदान गर्ने, उत्पादित विद्युत्को अधिकतम उपयोग सुनिश्चित गर्ने तथा संस्थागत पारदर्शिता कायम गर्ने उद्देश्यले यी समिति गठन गर्ने निर्णय गरेको हो।
विद्युत् महसुल पुनरावलोकन समितिको संयोजकमा सञ्चालक समिति सदस्य अंशु किरण शाही रहेका छन्। समितिलाई घरायसी उपभोक्तालाई सहुलियत, उत्पादनमूलक उद्योगका लागि उपयुक्त महसुल दर तथा नयाँ महसुल संरचनासम्बन्धी सिफारिससहित १५ दिनभित्र प्रतिवेदन पेश गर्ने कार्यादेश दिइएको छ।
समितिमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिका साथै ऊर्जा, उपभोक्ता र वित्त क्षेत्रका विज्ञ सदस्य रहेका छन्। सदस्य सचिवको जिम्मेवारी नेपाल विद्युत् प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशकलाई दिइएको छ।
यस्तै, प्राधिकरणका विगतका खरिद प्रक्रिया तथा सञ्चालित आयोजनासम्बन्धी प्राप्त उजुरी र गुनासोको छानबिन गर्न सञ्चालक समिति सदस्य शम्भु केसीको संयोजकत्वमा अर्को समिति गठन गरिएको छ। उक्त समितिमा प्राविधिक, कानुन तथा खरिद क्षेत्रका विज्ञ सदस्य छन् भने सदस्य सचिवको जिम्मेवारी प्राधिकरणले तोकेको उपकार्यकारी निर्देशकलाई दिइएको छ।
दोस्रो समितिलाई प्राप्त उजुरीको अध्ययन गरी दुई महिनाभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिइएको प्राधिकरणले जनाएको छ।





