काठमाडौं । टाटा मोटर्सको लोकप्रिय विद्युतीय एसयूभी पन्च ईभीको फेसलिफ्ट संस्करण नेपाल आइपुगेको छ। टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले नयाँ पन्च ईभी नेपाली बजारका लागि ल्याएको हो। कम्पनीले यसलाई नयाँ डिजाइन, ठूलो ब्याट्री प्याक र थप आधुनिक फिचरसहित अपडेट गरेको जनाएको छ।
नयाँ पन्च ईभीमा अगाडिको बम्पर परिमार्जन गरिएको छ भने क्लोज्ड–अफ ग्रिल डिजाइनलाई निरन्तरता दिइएको छ। हेडलाइट जोड्ने कालो ट्रिम हटाइएको छ भने वाई–आकारका एलईडी डीआरएल र अगाडिको भागमा रहेको चार्जिङ फ्ल्यापलाई यथावत् राखिएको छ। पछाडिको भागमा कनेक्टेड एलईडी टेललाइट समावेश गरिएको छ।
फेसलिफ्ट संस्करणमा अघिल्लो मोडलको तुलनामा ठूलो ब्याट्री प्याक प्रयोग गरिएको छ। अब यो ३० किलोवाट–आवर र ४० किलोवाट–आवरका दुई ब्याट्री विकल्पमा उपलब्ध हुनेछ। यसअघि पन्च ईभी २५ किलोवाट–आवर र ३५ किलोवाट–आवर ब्याट्री विकल्पमा बिक्री हुँदै आएको थियो। साथै, नयाँ मोडलले ६५ किलोवाट क्षमताको डीसी फास्ट चार्जिङ सपोर्ट गर्ने सुविधा पनि पाएको छ।
इन्टेरियरमा नयाँ ट्रिम फिनिस र डुअल–टोन कलर थिम थपिएको छ। गाडीमा १०.२५ इन्चको इन्फोटेनमेन्ट टचस्क्रिन र १०.२५ इन्चकै डिजिटल ड्राइभर डिस्प्ले उपलब्ध छ। भेरियन्टअनुसार वायरलेस चार्जिङ, भेन्टिलेटेड सिट, एम्बियन्ट लाइट, कनेक्टेड कार प्रविधि र ३६० डिग्री क्यामेरालगायत फिचर समावेश गरिएको छ।
सुरक्षातर्फ ६ वटा एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल (ईएससी), हिल होल्ड असिस्ट, टायर प्रेसर मनिटरिङ सिस्टम (टीपीएमएस), आईएसओफिक्स चाइल्ड सिट माउन्ट र हाइ–बिम असिस्टजस्ता सुविधा उपलब्ध छन्।
भारतमा नयाँ पन्च ईभी विभिन्न भेरियन्टमा उपलब्ध भए पनि नेपालमा कुन–कुन भेरियन्ट बिक्री गरिने भन्नेबारे सिप्रदी ट्रेडिङले हालसम्म आधिकारिक जानकारी सार्वजनिक गरेको छैन।





