काठमाडौं । सिरहाको गोलबजारमा गोली लागेर अन्दाजी १९ वर्षीय गणेश यादवको मृत्यु भएको छ ।

सुनसरीको देवानगञ्ज घटनाको विरोधमा दुई समुदायका युवाहरु सडकमा उत्रिएका थिए । सो क्रममा झडप भएको र भीड नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो ।
जिल्ला प्रशासन कार्यालय, सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले यादवको मृत्यु भएको बताएका छन् ।

ADVERTISEMENT

बरालका अनुसार युवकको मृत्यु भएपछि प्रदर्शनकारी थप उग्र बन्दै गएका छन् । कर्फ्यू जारी गरिए पनि उनीहरुले प्रदर्शन रोकेका छैनन् । वातावरण नियन्त्रणमा लिन सेनालाई सडकमा उतारिएको छ ।

यस्तै, सिरहाको लहान क्षेत्रमा पनि कर्फ्यु आदेश जारी भएको छ । बिहीबार दिउँसो ४ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु लगाइएको हो । यसअघि पूर्व–पश्चिम राजमार्गको पूर्वतर्फ गोलबजार नगरपालिका आसपासमा कर्फ्यु लगाइएको थियो ।

ADVERTISEMENT

जिल्ला प्रशासन कार्यालय सिरहाका अनुसार, लहान नगरपालिकाको पूर्वपश्चिम राजमार्गको पूर्वतर्फ बलान खोलासम्म, पश्चिमतर्फ सरस्वति खोला (बाटिका होटेल पश्चिम) सम्म र दक्षिणतर्फ पूर्व–पश्चिम राजमार्गको ५०० मिटर क्षेत्रसम्म वरिपरिको क्षेत्रमा कर्फ्यु लगाइएको बताएको छ ।