काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाली तथा विदेशी नागरिकले ५ हजार अमेरिकी डलर बराबरको विदेशी मुद्रा भन्सार घोषणा नगरी नेपालमा ल्याउन सक्ने व्यवस्था रहेको स्पष्ट गरेको छ।
राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले बिहीबार जारी गरेको सूचनाअनुसार ५ हजार अमेरिकी डलर बराबरको अमेरिकी मुद्रा तथा सोही बराबरको भारतीय रुपैयाँ भन्सार घोषणा नगरी नेपाल भित्र्याउन सकिनेछ। तर, सोभन्दा बढी रकम ल्याउँदा अनिवार्य रूपमा भन्सार घोषणा गर्नुपर्ने व्यवस्था गरिएको छ।
यसैबीच, राष्ट्र बैंकले ९ नोभेम्बर २०१६ पछि निष्कासन भएका २०० र ५०० दरका भारतीय रुपैयाँका नोट नेपाली वा भारतीय नागरिकले प्रति व्यक्ति २५ हजार भारतीय रुपैयाँसम्म नेपाल–भारतबीच ल्याउन, लैजान तथा सटही गर्न सक्ने जनाएको छ।
राष्ट्र बैंकका अनुसार नेपाली नागरिकले भारतबाहेक अन्य कुनै मुलुकबाट भारतीय रुपैयाँ नेपाल ल्याउन वा अन्य मुलुकमा लैजान भने पाउने छैनन्।
त्यस्तै, ९ नोभेम्बर २०१६ भन्दा अघि चलनचल्तीमा रहेका ५०० र १ हजार दरका भारतीय रुपैयाँका नोटको कारोबारमा लगाइएको प्रतिबन्ध यथावत् रहने राष्ट्र बैंकले स्पष्ट पारेको छ।





