काठमाडौं । रौतहट– ४ का रास्वपा सांसद गणेश पौडेलमाथि मसी प्रहार भएको छ । गढीमाई नगरपालिका–४ स्थित पर्सागाउँमा बिहीबार राति ‘जनतासँग सांसद’ कार्यक्रममा सहभागी भएर फर्कने क्रममा कार्यस्थलमै पौडेलमाथि पछाडिबाट कालोमसी फालिएको हो ।
सांसद पौडेलका अनुसार कार्यक्रम सकेर जुत्ता लगाउने क्रममा केही मानिसहरूले पछाडि शरीरमा मसी फालेर भागेका हुन् । ‘मसी फाल्ने मान्छे मैले पनि चिन्न सकिनँ,’ उनले भने, ‘प्रहरीलाई जानकारी गराइसकेको छु ।’
राति मास्क लगाएका २–३ जनाको समूहले सांसद पौडेलमाथि मसी फालेर फरार भएको हो। घटनाले जिल्लाको राजनीतिक वृत्तमा तरंग पैदा गरेको छ। निर्वाचित जनप्रतिनिधिमाथि गरिएको यस्तो व्यवहारलाई लोकतान्त्रिक मर्यादामाथिको आक्रमणका रूपमा हेरिएको छ।
सांसद पौडेलका अनुसार स्थानीय नागरिकका समस्या तथा मलखाद अभावलगायत विषयमा छलफल गर्न आयोजित कार्यक्रम राति करिब ८ देखि सवा ८ बजेको बीचमा सकिएको थियो। फर्किने तयारीमा रहेका बेला पछाडिबाट आएका व्यक्तिहरूले चिनजानको मान्छेले अँगालो हालेझैँ गरी उनको ढाडमा कालोमसी दलेर भागेका थिए।
पौडेलका अनुसार आक्रमणकारीहरू हातमा रातो झण्डा र पर्चा बोकेका थिए। उनीहरूले आफूलाई मधेश मुक्ति अभियानसँग आबद्ध समूह भएको संकेत दिएको उनले दाबी गरेका छन्। घटनापछि कार्यक्रममा सहभागी स्थानीय र समर्थकहरूले उनीहरूलाई लखेट्ने प्रयास गरे पनि अँध्यारोको फाइदा उठाउँदै उनीहरू भाग्न सफल भएका थिए।





