काठमाडौं । रास्वपा सांसद एवं पूर्वमन्त्री बब्लु गुप्ताले ट्राफिक नियम उल्लंघन गरेबापत पाँच सय रुपैयाँ जरिवाना तिर्नुपरेको छ ।
सामाजिक सञ्जालमा भाइरल भएको एक भिडियोले गुप्तालाई ट्राफिकले कारवाहीको दायरामा ल्याएपछि उनले पाँच सय रुपैयाँ जरिवाना बुझाएका हुन् ।
सिरहा–१ बाट निर्वाचित सांसद गुप्ताले गुडिरहेको मोटरसाइकलको पछाडि उभिएर भिडियो बनाएको घटनामा ट्राफिक नियम उल्लंघन गरेको ठहर गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय, लहानले पाँच सय रुपैयाँ जरिवाना गरेको हो। कारवाहीपछि सांसद गुप्ता आफैं ट्राफिक कार्यालय पुगेर जरिबाना बुझाएका छन्।
जब गुडिरहेको बुलेट मोटरसाइकलको पछाडि उभिएर मोबाइलबाट भिडियो खिचिरहेको उनको दृश्य सामाजिक सञ्जालमा व्यापक रूपमा फैलियो, तब उनी चर्चामा आएका हुन् ।
भिडियो सार्वजनिक भएपछि सर्वसाधारणले सार्वजनिक पदमा बसेका व्यक्तिले नै ट्राफिक नियम उल्लंघन गरेको भन्दै तीव्र आलोचना गरेका थिए। बढ्दो आलोचनापछि सांसद गुप्ताले फेसबुकमार्फत सार्वजनिक रूपमा क्षमायाचना गरेका थिए।
उनले बाल्यकाल बिताएको ठाउँमा पुगेपछि पुराना सम्झनाले भावुक बनाउँदा रमाइलोका क्रममा मोटरसाइकलको पछाडि उभिएर भिडियो बनाएको स्वीकार गर्दै त्यसबाट ट्राफिक नियम उल्लंघन भएको आफूले महसुस गरेको बताएका छन्। उनले भविष्यमा यस्ता गल्ती नदोहोर्याउने प्रतिबद्धता जनाउँदै आफूबाट जानी वा नजानी भएको त्रुटिप्रति क्षमा मागेका छन्। साथै, आफ्नो ऊर्जा अब देश र जनताको हितमा समर्पित गर्ने उल्लेख गरेका छन्।










