रूपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिका-१० मैनिहवामा ४५ वर्षको बुवाले २१ वर्षको छोरालाई घरायसी विवादमा ज्यान लिएका छन् ।
तिलोत्तमा १० का वडाध्यक्ष गोपाल घिमिरेका अनुसार दुई भाइ रहेका ४५ वर्षीय सहस्रराम चौधरीले कान्छो छोरा सरोज चौधरीको हत्या गरेका हुन् । घिमिरेले बाबुले चक्कु प्रहार गर्दा गम्भीर घाइते भएका ती युवाको उपचारका क्रममा मृत्यु भएको छ । मृतक सरोज अविवाहित थिए ।
चक्कु प्रहारबाट गम्भीर घाइते भएका उनलाई सुरुमा मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचार गरिएको तर त्यहाँबाट थप उपचारका लागि मेडिकल कलेज भैरहवा रिफर गरिएकोमा हिजो बिहीबार साँझ उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । सुरूमा परिवारले घटना लुकाउन खोजेर सिढीबाट लडेको बताएका वडाध्यक्ष घिमिरेले बताए ।
बिहीबार बिहान करिब ७ बजे सरोज आफ्नै घरको सिँढीबाट लड्दा जमिनमा रहेको चक्कुले ढाडमा काटेर घाइते भएको भन्ने सूचना क्रिमसन अस्पतालबाट प्रहरीलाई प्राप्त भएको थियो ।
तर, उक्त सूचनाका आधारमा घटनास्थल पुगेर गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा घटना दुर्घटना नभई घरायसी विवादका क्रममा सरोजका बाबु अन्दाजी ४५ वर्षीय सहसराम चौधरीले चक्कु प्रहार गरेको खुलेको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न सहसराम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । स्थानीयका अनुसार चक्कु प्रहार गर्ने सहस्ररामले पहिले पनि श्रीमती छोरालाई पिट्ने गर्दथे ।





