काठमाडौँ। झापाको दमकमा टिपर र मोटरसाइकल ठोक्किँदा बुधबार दिउँसो दुई जना युवाको ज्यान गएको छ। दुर्घटना दमक नगरपालिका–१ बरगाछी क्षेत्रमा दिउँसो करिब ३ः३० बजे भएको हो।

झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार, दमकबाट रामचोकतर्फ जाँदै गरेको मे १ ख २८८४ नम्बरको टिपरसँग दुर्गा मन्दिरबाट पेल्टीमारीतर्फ जाँदै गरेको प्र १–०१–०१८ प ८३०३ नम्बरको मोटरसाइकल ठोक्किएको थियो।

ADVERTISEMENT

दुर्घटनामा मोटरसाइकल चालक इलामको चुलाचुली गाउँपालिका–४ का २२ वर्षीय प्रवेश राई र पछाडि सवार १९ वर्षीय जनम राई गम्भीर घाइते भएका थिए। दुवै जनालाई तत्काल उद्धार गरी उपचारका लागि दमक अस्पताल लगिएको भए पनि अस्पताल पुर्‍याउनासाथ चिकित्सकले दिउँसो करिब ३ः५० बजे मृत घोषणा गरेका प्रहरीले जनाएको छ।

दुर्घटनालगत्तै प्रहरीले टिपर र चालक उदयपुरको त्रियुगा नगरपालिका–९ रातमाटेका ३२ वर्षीय हिवराज रायलाई नियन्त्रणमा लिएको छ। मोटरसाइकल पनि प्रहरीको नियन्त्रणमा रहेको छ।

ADVERTISEMENT

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार दुवै सवारीसाधनको तीव्र गतिका कारण दुर्घटना भएको आशंका गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।