काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बुधबार करिब तीन घण्टा लामो भेटवार्ता भएको छ।
नेकपा स्रोतका अनुसार ललितपुरमा भएको भेटमा वाम शक्तिबीच सहकार्य, पार्टी एकताको सम्भावना, प्रदेश सरकारमा सत्ता साझेदारी तथा आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनमा तालमेललगायत विषयमा छलफल भएको हो।
स्रोतले वाम गठबन्धनको विषयमा सकारात्मक समझदारी बनेको दाबी गरेको छ। स्रोतका अनुसार प्रचण्ड जनकपुरबाट फर्किएपछि सहकार्यसम्बन्धी लिखित सहमतिको प्रक्रिया अघि बढ्ने तयारी छ।
एमाले सचिव महेश बस्नेतले पनि ओली र प्रचण्डबीच भेट भएको पुष्टि गर्दै एमालेसँग सहकार्यको प्रक्रिया औपचारिक रूपमा अघि बढेको बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत प्रचण्डको भनाइ उद्धृत गर्दै यो सहकार्य प्रदेश सरकार निर्माणमा मात्र सीमित नरही मुलुकको हित, राजनीतिक स्थायित्व र कम्युनिस्ट शक्तिबीचको सहकार्यलाई बलियो बनाउने विश्वास व्यक्त गरेका छन्।
बस्नेतले वाम शक्तिबीचको सहकार्यले देशलाई स्थायित्व र समृद्धिको दिशामा अघि बढाउन सहयोग पुग्ने अपेक्षा पनि व्यक्त गरेका छन्।
कांग्रेस–एमाले गठबन्धन समाप्त भएपछि एमाले र नेकपा एकअर्कासँग नजिकिँदै आएका छन्। श्रीलंकाबाट फर्किएपछि प्रचण्डले सहकार्यलाई तीव्रता दिएका छन्। बुधबारको भेटअघि उनले सहसंयोजक माधवकुमार नेपालसँग पनि यस विषयमा छलफल गरेका थिए।
ओलीसँग भेटपछि जनकपुर प्रस्थान गरेका प्रचण्डले जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै एमालेसँग सहकार्यको प्रक्रिया औपचारिक रूपमा अघि बढेको बताएका थिए। यद्यपि, उनले तीन दलबीचको समझदारी अझै अन्तिम निष्कर्षमा नपुगेको र प्रदेश सरकारको सत्ता साझेदारीबारे नेपाली कांग्रेससँग पनि संवाद जारी रहेको उल्लेख गरे।
मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन जनकपुर पुगेका प्रचण्डले पार्टी संगठन सुदृढीकरणलाई प्राथमिकतामा राखिने बताए। बुधबार हुने प्रशिक्षण कार्यक्रममा प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल र वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।





