काठमाडौं – भारतको राजधानी नयाँ दिल्लीमा शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग्दै प्रधानमन्त्री निवासअगाडि धर्ना दिन पुगेका प्रमुख विपक्षी दल कांग्रेसका नेता राहुल गान्धी पक्राउ परेका छन्।
राहुल गान्धीको नेतृत्वमा कांग्रेसका सांसदहरूले मंगलबार प्रधानमन्त्री निवास लोक कल्याण मार्ग बाहिर धर्ना सुरु गरेका थिए। प्रदर्शनकारीले प्रधानमन्त्री नरेन्द्र मोदी र शिक्षामन्त्री धर्मेन्द्र प्रधान दुवैले राजीनामा दिनुपर्ने माग गरेका थिए।
प्रदर्शनका क्रममा दिल्ली प्रहरीले लोकसभाका प्रतिपक्ष नेता राहुल गान्धी, कांग्रेस नेतृ प्रियंका गान्धी तथा समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादव लाई नियन्त्रणमा लिएर संसद मार्ग प्रहरी कार्यालय लगेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
यसअघि प्रदर्शनस्थलमा पुगेका केन्द्रीय मन्त्री जितेन्द्र सिंह ले राहुल गान्धीसँग भेटवार्ता गरेका थिए। त्यसपछि सामाजिक सञ्जाल एक्समा प्रतिक्रिया जनाउँदै उनले राहुल गान्धीले गरेको वाचा पूरा नगरी आफ्नो भनाइबाट पछि हटेको आरोप लगाएका छन्।
कांग्रेसले प्रधानमन्त्री मोदी स्वयं निवासबाट बाहिर आएर प्रदर्शनकारीका मागबारे जवाफ दिनुपर्ने अडान राखेको छ। प्रदर्शनका कारण लोक कल्याण मार्ग क्षेत्रमा केही समय तनावपूर्ण अवस्था सिर्जना भएको बताइएको छ।





