काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह बालेनले तयारी पोसाक उद्योगले भोगिरहेका समस्या समाधान र उत्पादन तथा निर्यात प्रवर्धनलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै उनले तयारी पोसाक उद्योगले भोगिरहेका समस्या समाधान गर्न सरकार तयार रहेको बताएका हुन् ।
नेपाल तयारी पोसाक उद्योग संघका अध्यक्ष पशुपतिदेव पाण्डेले सन् २००५ अघिको अवस्थामा जस्तै नेपाली तयारी पोसाक उद्योगलाई पुनर्जीवित गरी देशको अर्थतन्त्रलाई सबल बनाउने विषयमा गहन छलफल भएको बताए ।
प्रधानमन्त्री शाहले मन्त्रालयसम्म पुगेर रोकिएका विषयहरुलाई तुरुन्तै बैठक बसी समाधान गर्न सम्बन्धित निकायलाई तत्काल निर्देशन दिएको पनि पाण्डेले जानकारी दिए ।
प्रधानमन्त्री शाहले २०औँ वर्षदेखि बन्द रहेका तयारी पोसाकका रुग्ण उद्योगहरूलाई पुनः सञ्चालनमा ल्याई आयात प्रतिस्थापन र निर्यात प्रवर्धन गर्ने सरकारको योजना रहेको बताएका थिए ।
साथै, कपडा उद्योगलाई सुदृढ बनाउन टेक्स्टाइल काउन्सिल गठन गरी यस क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्डका रूपमा विकास गरिने समेत प्रधानमन्त्रीबाट प्रतिबद्धता व्यक्त भएको उनले बताए ।
अमेरिकातर्फको निर्यातमा देखिएको प्रयोगशाला परीक्षणसम्बन्धी अवरोध फुकाउन परराष्ट्र मन्त्रालयमार्फत तत्काल सहजीकरण गर्न पनि प्रधानमन्त्रीले निर्देशन दिएको अध्यक्ष पाण्डेले बताए ।





