काठमाडौँ । पछिल्ला वर्षहरूमा नेपालले आँखा स्वास्थ्य सेवा क्षेत्रमा फड्को मार्न थालेको छ । यसले नयाँ सम्भावनाको ढोका खोल्दै गएको छ ।
आँखा स्वास्थ्य सेवाका क्षेत्रमा नेपालले हासिल गरेको प्रगति र अन्तर्राष्ट्रिय विश्वासले देशलाई गुणस्तरीय तथा सर्वसुलभ स्वास्थ्य सेवाको आकर्षक गन्तव्य (हव) का रूपमा स्थापित गर्ने आधारशिलाहरु तयार गरेको छ ।
नेपाल नेत्रज्योति संघअन्तर्गत सञ्चालित आँखा अस्पतालहरूले विदेशी नागरिकलाई प्रदान गरिरहेको आँखा स्वास्थ्य उपचार सेवाले सबैलाई आकर्षित गरेको छ । हाल संघको सञ्जालभित्र २८ आँखा अस्पताल र २२६ आँखा उपचार केन्द्र आबद्ध छन् ।
संघअन्तर्गत सञ्चालित ती आँखा अस्पताल तथा उपचार केन्द्रहरूले आर्थिक वर्ष २०८२–८३ मा मात्र भारतलगायतका विदेशी बिरामीलाई सेवा प्रदान गरी एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा नेपाल भित्रयाएका छन् ।
उपचारका लागि आउने विदेशी बिरामीमध्ये बढी भारतबाट आउने गरेका छन् भने बंगलादेश, भुटानलगायत अन्य मुलुकका नागरिकले पनि नेपालका आँखा अस्पतालबाट सेवा लिइरहेका छन् । यो रकमलाई अस्पतालहरूको आयको तथ्यांकका रूपमा मात्र हेर्नु पर्याप्त हुँदैन । यसले नेपालको स्वास्थ्य सेवाप्रति विदेशी नागरिकको बढ्दो विश्वास, नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीको दक्षता र यहाँ उपलब्ध नेत्र उपचार सेवाको गुणस्तरलाई समेत प्रतिविम्बित गर्छ ।
साथै, स्वास्थ्य सेवा पनि नेपालका लागि विदेशी मुद्रा आर्जन गर्ने महत्वपूर्ण क्षेत्र बन्न सक्ने सम्भावनालाई यसले स्पष्ट पारेको छ । सो आवमा नेपाली नागरिक तथा अन्य विभिन्न देशका नागरिक गरी कूल पाँच करोड दुई लाख ४८९ आँखाका बिरामीलाई आँखा उपचार सेवा प्रवाह गरिसकेको छ भने ५६ लाख ५९ हजार ६२४ जनाको आँखाको शल्यक्रिया भइसकेको छ ।
बिरामीका आफन्तले उपचारका लागि बिरामीलाई अर्को देश लैजानु भनेको सामान्य कुरा होइन । उपचारको गुणस्तर, चिकित्सकप्रतिको विश्वास, लागत, पहुँच, सेवा प्राप्त गर्ने अवधि, विगतका बिरामीको अनुभव र आर्थिक लगायतका पक्षहरुले यस्तो निर्णयमा अहं भूमिका खेल्छ ।
नेपालमा उपलब्ध अनुभवी नेत्र विशेषज्ञ, आधुनिक प्रविधि तथा उपकरण, शल्यक्रियाको राम्रो नतिजा, बिरामीमैत्री सेवा, तुलनात्मक रूपमा छोटो प्रतिक्षा अवधि र सर्वसूलभ उपचार खर्चका कारण सीमावर्ती क्षेत्रसहित विभिन्न देशका आँखाका बिरामी नेपाली आँखा अस्पतालतर्फ आकर्षित भइरहेका छन् ।
नेपाल नेत्रज्योति संघले स्थापना कालदेखि नै सबैका लागि गुणस्तरीय आँखा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ मानवीय सेवा विस्तार गर्दै आएको छ । अस्पतालमा उपचार गराएर फर्किएका बिरामीको सन्तुष्टि र उनीहरूले आफ्ना परिवार तथा समुदायमा बाँड्ने सकारात्मक अनुभवले पनि नयाँ बिरामीलाई नेपालमा उपचारका लागि आकर्षित गर्न महत्वपूर्ण भूमिका खेलेको छ ।
स्वास्थ्य सेवामा विश्वास महँगा विज्ञापनले मात्र निर्माण हुँदैन । वर्षौंको सेवा, उपचारको नतिजा, दक्ष जनशक्ति र बिरामीले पाएको अनुभवबाट त्यो विश्वास क्रमशः निर्माण हुन्छ । नेपाली आँखा उपचार सेवाले अन्तर्राष्ट्रिय बिरामीमाझ बनाएको विश्वास पनि यही निरन्तरताको परिणाम हो ।






