वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र दुर्व्यवहारको विरोधमा चिकित्सकहरू आन्दोलनमा उत्रिएपछि पोखराका विभिन्न अस्पतालको उपचार सेवा प्रभावित भएको छ।

नेपाल चिकित्सक सङ्घको आह्वानमा भएको देशव्यापी आन्दोलनअन्तर्गत पोखराका अधिकांश अस्पतालमा बहिरङ्ग (ओपीडी) सेवा बन्द गरिएको सङ्घको गण्डकी शाखाले जनाएको छ।

ADVERTISEMENT

सङ्घ गण्डकी शाखाका अध्यक्ष डा. सुनिल पनेरुका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, गण्डकी मेडिकल कलेज, मणिपाल शिक्षण अस्पताल, चरक मेमोरियल अस्पताल, फेवा सिटी अस्पताललगायत स्वास्थ्य संस्थाको बहिरङ्ग सेवा प्रभावित भएको छ।

ADVERTISEMENT

ओपीडी सेवा बन्द हुँदा सयौँ बिरामी नियमित स्वास्थ्य परीक्षण तथा उपचारबाट वञ्चित हुनुपरेको जनाइएको छ। यद्यपि आकस्मिकलगायत अत्यावश्यक स्वास्थ्य सेवा भने सञ्चालनमै रहेको डा. पनेरुले जानकारी दिनुभयो।

उहाँका अनुसार आन्दोलन नेपाल चिकित्सक सङ्घ केन्द्रीय समितिको निर्णयअनुसार सञ्चालन भइरहेको छ। आन्दोलन जारी रहने वा फिर्ता हुने विषयमा केन्द्रको निर्णय पर्खिएको उहाँले बताउनुभयो।

नारायणी अस्पतालमा भएको घटनापछि चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न माग गर्दै चिकित्सकहरूले देशव्यापी रूपमा विरोध कार्यक्रम गर्दै आएका छन्। स्वास्थ्य संस्थामा हुने हिंसा अन्त्य गर्नुपर्ने माग उनीहरूको छ।