काठमाडौं । विद्यालयमा सञ्चालन हुँदै आएको राष्ट्रिय दिवा खाजा कार्यक्रमसम्बन्धी वार्षिक प्रतिवेदन, २०२५ सार्वजनिक गरिएको छ। खाद्य सुरक्षा, पोषण, शिक्षा, जलवायु उत्थानशीलता र सामाजिक सुरक्षालाई केन्द्रमा राखेर तयार गरिएको प्रतिवेदन नेपाल सरकार र संयुक्त राष्ट्र सङ्घीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) को संयुक्त आयोजनामा सार्वजनिक गरिएको हो।

प्रतिवेदन सार्वजनिक कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणकर भट्ट, सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री बेलबहादुर राना मगर, नेपालका लागि फिनल्याण्डका राजदूत पेट्री पुहाक्का, अमेरिकी दूतावासका कार्यवाहक राजदूत स्कट अर्बोम, शिक्षा तथा खेलकुद मन्त्रालयका सहसचिव शिवकुमार सापकोटा तथा विश्व खाद्य कार्यक्रमका देशीय निर्देशक रियाज लोधीलगायतको सहभागिता थियो।

ADVERTISEMENT

प्रतिवेदनमा नेपालमा पाँच दशकभन्दा लामो समयदेखि सञ्चालन हुँदै आएको दिवा खाजा कार्यक्रमको उपलब्धि र प्रभाव समेटिएको छ। सन् १९६७ मा सुरु भएको यो कार्यक्रम हाल ७७ वटै जिल्लामा सञ्चालनमा रहेको छ। यसबाट करिब ३० लाख बालबालिका प्रत्यक्ष लाभान्वित भएको प्रतिवेदनमा उल्लेख छ।

दिवा खाजा कार्यक्रमले विद्यालय भर्ना दर, विद्यार्थीको नियमित उपस्थिति र सिकाइ उपलब्धिमा सुधार ल्याउन सहयोग पुगेको जनाइएको छ। स्थानीय किसान तथा सहकारीमार्फत विद्यालयलाई जोडेर घरेलु खाजा प्रवर्द्धन गर्दा विद्यार्थीको पोषण सुधारसँगै स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव परेको उल्लेख गरिएको छ।

ADVERTISEMENT

कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. भट्टले बालबालिकामा लगानी सरकारको प्राथमिकतामा रहेको बताउनुभयो। विश्व खाद्य कार्यक्रमका निर्देशक रियाज लोधीले खाद्य सुरक्षा र पोषण सुधारमार्फत मानव पुँजी विकासमा सहकार्य जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।