काठमाडौं । जल तथा मौसम विज्ञान विभागले बुधबारदेखि देशभर वर्षाको गतिविधि क्रमशः कम हुँदै जाने जनाएको छ।
हाल मनसुनी वायुको प्रभाव कायम रहे पनि मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेकाले आज र भोलि देशका विभिन्न स्थानमा वर्षा जारी रहने विभागले जनाएको हो।
वरिष्ठ मौसमविद् मीनकुमार अर्यालका अनुसार सोमबार र मंगलबार देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना रहे पनि बुधबारदेखि वर्षाको तीव्रता घट्दै जानेछ।
विभागका अनुसार आज हिमाली भूभागका केही स्थान तथा पहाडी भूभागका धेरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। साथै, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थान तथा मधेस प्रदेशका केही स्थानमा पनि वर्षा हुने पूर्वानुमान गरिएको छ।
बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
रातिको समयमा पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारी वर्षा हुन सक्ने भएकाले बाढी, पहिरो, डुबान र गेग्रान बहावको जोखिमप्रति सतर्क रहन विभागले आग्रह गरेको छ।






