काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह बालेनले सोमबार पुँजी बजार, धितोपत्र व्यवसाय क्षेत्रका सरोकारवालासँग विशेष छलफल गर्ने भएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा हुने बैठकमा नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष गोपाल भट्ट, नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अध्यक्ष अमृत लम्साल, स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकाल, नासा सेक्युरिटिजका सन्दीप जलान, नेप्सेका पूर्वप्रमुख कार्यकारी अधिकृत सीताराम थपलिया सहभागी हुनेछन् ।
यस्तै, नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत पुँजीबजार समितिका सभापति प्रियराज रेग्मी र लगानीकर्ता अम्बिकाप्रसाद पौडेल पनि बैठकमा सहभागी हुनेछन् ।
बैठकमा पुँजी बजारको वर्तमान अवस्था, धितोपत्र व्यवसाय तथा बीमा क्षेत्रको सुदृढीकरण, नीतिगत सुधारका प्रयास तथा समग्र राष्ट्रिय अर्थतन्त्रसँग सम्बन्धित समसामयिक विषयमा सरोकारवालासँग छलफल हुने जनाइएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजना हुने यस विशेष बैठकलाई पुँजी बजारको भविष्यका लागि निर्णायक मानिएको छ। नयाँ सरकार आएपछि नीतिगत सुधार हुने र बजारले नयाँ उचाइ लिने आशामा रहेका लाखौँ साना तथा ठूला लगानीकर्ताहरू पछिल्लो समय निराश बनेका छन्। बालेन सरकार बनेपछि नेप्से तीन सयभन्दा बढी अंकले घटेकाे छ । लगानीकर्ताले ६ अर्बभन्दा बढी गुमाएका छन् ।
छलफलमा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई भने सहभागी नगराइने भएको छ । प्रधानमन्त्री बालेनले अर्थमन्त्री वाग्लेलाई बाइपास गर्दै पछिल्लो समय निजी क्षेत्र, उद्योगी व्यवसायीसँग निरन्तर छलफल गरिरहेका छन् । प्रधानमन्त्रीको यो कदमप्रति अर्थमन्त्री असन्तुष्ट बनेको बताइन्छ ।
प्रधानमन्त्री बालेनले यस्ता छलफलमा रास्वपा सांसद विदुषी राणालाई सहभागी गराउने गरेका छन् । र, प्रधानमन्त्रीसँगको छलफलबारे उनले बाहिर ब्रिफिङ गर्ने गरेकी छन् ।






