काठमाडौं । गायक दुर्गेश थापाले गाएको चलचित्र ‘मास्टर्नी’ को प्रमोसनल गीत विवादमा परेको छ । दुई दिनअघि युट्युबमा सार्वजनिक भएको गीतलाई लिएर अहिले व्यापक टीकाटिप्पणी भइरहेको छ ।
अधिक सामाजिक सञ्जाल प्रयोगकर्ताले ‘ताराबाजी लैलै, म्याथ सिक्ने भए’ गीतविरुद्ध प्रोटेस्ट हालेका छन् । द्विअर्थी भएकाले गीत नसुन्न भन्दै सचेत र सजग पनि गरइएको छ ।
नेपाल शिक्षक महासंघले गीत तत्काल बन्द गर्न ध्यानाकर्षण गराइसकेको छ । यस्तै गीतलाई प्रतिबन्ध लगाउन माग गर्दै सूचना तथा सञ्चार मन्त्रालयमा उजुरी परेको छ ।
बाराही माध्यमिक विद्यालयका शिक्षक रमेशबाबु भट्टराईले गीतमा प्रतिबन्ध लगाउन माग गर्दै शुक्रबार उजुरी दर्ता गरेका हुन् । सो गीतले शिक्षण पेसाको अपमान गरेको उनको भनाइ छ ।
‘दुर्गेश थापाको मास्टर्नी नामक चलचित्रमा ताराबाजी लै लै नामको गीतमा समग्र शिक्षक विशेषतः महिला शिक्षक र शिक्षण पेसाप्रति नै अपमान हुनेगरी अमर्यादित र हाम्रो संस्कृति भड्काउने खालका शब्दहरु प्रयोग गरिएकोमा घोर आपत्ति जनाउँदै उक्त गीतलाई तत्काल प्रतिबन्ध लगाउन जोडदार माग गर्दछौं,’ उजुरीमा भनिएको छ ।
दुर्गेश, प्रियंका कार्की, आयुष्मान देशराज जोशी, अर्यान सिग्देल अभिनित गीतलाई लिएर व्यापक आलोचना भइरहेको छ । धेरैले यसलाई चिप पब्लिसिटी भनेका छन् ।




