काठमाडौं । आगामी भदौ ५ गते प्रदर्शनमा आउने फिल्म ‘मास्टर्नी’ को प्रमोसनल गीत युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा पुगेको छ।

आयंका फिल्म्सको प्रस्तुति रहेको फिल्मको गीत रिलिज भएको २४ घण्टाभित्रै युट्युबको अडियो र भिडिओ दुवै ट्रेन्डिङमा नम्बर १ बन्न सफल भएको हो। दुर्गेश थापाको शब्द, संगीत र स्वर रहेको गीतलाई हालसम्म ६ लाखभन्दा बढी पटक हेरिएको छ।

ADVERTISEMENT

गीत रिल्स र टिकटकमा पनि व्यापक रूपमा भाइरल भइरहेको छ।लोकप्रियतासँगै गीतका केही दुइअर्थी शब्द र नृत्यका स्टेपलाई लिएर सामाजिक सञ्जालमा आलोचनासमेत भइरहेको छ।

गीतमा दुर्गेश थापालाई गायिका वविना किराँतीले स्वरमा साथ दिएकी छन्। प्रदीप लामाको कोरियोग्राफी रहेको भिडियोमा दुर्गेश थापा, प्रियंका कार्की, आर्यन सिग्देल र आयुष्मान जोशी फिचर्ड छन्। गीतको छायांकन तथा सम्पादन पवन सुस्लिङले गरेका हुन्।

ADVERTISEMENT

प्रियंका कार्की जोशी, आयुष्मान जोशी, क्याबिनेट श्रेष्ठ र प्रनित कार्कीको संयुक्त निर्माण रहेको फिल्मलाई सुवेन्दु घोषले निर्देशन गरेका हुन्। चलचित्रको कथा प्रियंका कार्कीले लेखेकी हुन् भने पटकथा शान बस्नेतले तयार पारेका छन्। संवाद शान बस्नेत र प्रियंका कार्कीले संयुक्त रूपमा लेखेका हुन्।

फिल्ममा प्रियंका कार्कीसँगै सरोज खनाल, गौरी मल्ल, विशाल पहाडी, प्रमोद अग्रहरी, आर्यन सिग्देल, अनुपविक्रम शाही, रक्षा थापा, सिम्रन खड्का र दिनेश काफ्लेलगायत कलाकारको अभिनय रहेको छ।