काठमाडौं । सरकारले विपन्न वर्गका जनताको आर्थिक पुनरोत्थानका लागि बैंक तथा फाइनान्स कम्पनीहरूमार्फत प्रवाह गर्ने कर्जा रकम लगातार घट्दै गएको छ। नेपाल राष्ट्र बैंकको आर्थिक गतिविधि अध्ययन सम्बन्धी एकीकृत अर्ध–वार्षिक प्रतिवेदन २०८२/०८३ अनुसार पछिल्लो समय विपन्न वर्गमा प्रवाह हुने कर्जा रकम लगातार घट्दै गएको हो।

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिसम्ममा बैंक तथा फाइनान्स कम्पनीहरूबाट विपन्न वर्गमा प्रवाह हुने कुल कर्जा रकम गत आवको सोही अवधिको तुलनामा पाँच दशमलव १६ प्रतिशतले घटेर तीन खर्ब दुई अर्ब ३१ करोड रुपैयाँमा सीमित रहेको छ। गत आवको सोही अवधिमा यस्तो कर्जा एक दशमलव शून्य नौ प्रतिशतले घटेर तीन खर्ब १८ अर्ब ७५ करोड पुगेको थियो। चालु आवको दोस्रो त्रैमासिक अवधिमा कुल विपन्न वर्ग कर्जामा बागमती प्रदेशमा प्रवाहित कर्जाको हिस्सा सबैभन्दा धेरै ५४ दशमलव १७ प्रतिशत रहेको छ भने कर्णाली प्रदेशको सबैभन्दा कम एक दशमलव ५६ प्रतिशत हिस्सा रहेको छ। यसैगरी, कर्णाली प्रदेशमा विपन्न वर्ग कर्जाको वृद्धिदर सबैभन्दा धेरै अर्थात् सात दशमलव ६५ प्रतिशत रहेकोमा मधेश प्रदेशमा सबैभन्दा धेरै सात दशमलव ४५ प्रतिशतले गिरावट आएको छ।

ADVERTISEMENT

राष्ट्र बैंकका अनुसार चालु आवको दोस्रो त्रैमासमा कोशी प्रदेशमा कुल ३९ अर्ब ९० करोड ५२ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ। यो कर्जा विपन्न वर्गमा प्रवाह भएको कुल कर्जा रकममा १३ दशमलव २० प्रतिशत हिस्सा हो भने गत आवको सोही अवधिको तुलनामा छ दशमलव ७६ प्रतिशतले कम हो। गत आवको सोही अवधिमा कोशी प्रदेशमा कुल ४२ अर्ब ७९ करोड ७८ लाख ९० हजार रुपैयाँ बराबरको कर्जा प्रवाह भएको थियो। मधेश प्रदेशमा पनि चालु आवको दोस्रो त्रैमासमा कुल २५ अर्ब सात करोड ४५ लाख १० हजार रुपैयाँ कर्जा विपन्न वर्गमा प्रवाह भएको थियो। यो रकम कुल विपन्न वर्ग कर्जाको आठ दशमलव २९ प्रतिशत हिस्सा हो भने गत आवको सोही अवधिमा सात दशमलव ४५ प्रतिशतले कम हो। गत आवको सोही अवधिमा मधेश प्रदेशमा २७ अर्ब नौ करोड २६ लाख १० हजार रुपैयाँ बराबरको विपन्न वर्ग कर्जा प्रवाह भएको थियो।

ADVERTISEMENT

बागमती प्रदेशमा भने चालु आवको पछिल्लो छ महिनाको अवधिमा कुल एक खर्ब ६३ अर्ब ७५ करोड ८० लाख ३० हजार रुपैयाँ बराबरको कर्जा विपन्न वर्गमा प्रवाह भएको छ। यो कर्जा विपन्न वर्गमा प्रवाह भएको कुल कर्जा रकमको ५४ दशमलव १७ प्रतिशत हिस्सा हो भने गत आवको सोही अवधिको तुलनामा पाँच दशमलव ७८ प्रतिशतले कम हो। गत आवको सोही अवधिमा बागमती प्रदेशमा एक खर्ब ७३ अर्ब ८० करोड ९३ लाख ३० हजार रुपैयाँ बराबरको कर्जा विपन्न वर्गमा प्रवाह भएको थियो।

ADVERTISEMENT

राष्ट्र बैंकका अनुसार गण्डकी प्रदेशमा पनि चालु आवको दोस्रो त्रैमासमा ३० अर्ब सात करोड ४६ लाख ७० हजार रुपैयाँ बराबरको कर्जा विपन्न वर्गमा प्रवाह भएको छ। यो कर्जा विपन्न वर्गमा प्रवाह भएको कुल कर्जा रकमको नौ दशमलव ९५ प्रतिशत हिस्सा हो भने गत आवको सोही अवधिको तुलनामा शून्य दशमलव ९६ प्रतिशतले बढी हो। गत आवको सोही अवधिमा गण्डकी प्रदेशमा कुल २९ अर्ब ७८ करोड ८४ लाख ९० हजार रुपैयाँ बराबरको कर्जा विपन्न वर्गमा प्रवाह भएको थियो।

यसैगरी लुम्बिनी प्रदेशमा पनि चालु आवको दोस्रो त्रैमासमा कुल ३० अर्ब ६३ करोड २३ लाख २० हजार रुपैयाँ बराबरको कर्जा विपन्न वर्गमा प्रवाह भएको छ। यो कर्जा रकम विपन्न वर्गमा प्रवाह भएको कुल कर्जा रकममध्येको १० दशमलव १३ प्रतिशत हिस्सा हो भने गत आवको सोही अवधिको तुलनामा पाँच दशमलव ३९ प्रतिशतले कम हो। गत आवको सोही अवधिमा लुम्बिनी प्रदेशमा ३२ अर्ब ३७ करोड ७१ लाख ९० हजार रुपैयाँ बराबरको कर्जा विपन्न वर्गमा प्रवाह भएको थियो।

कर्णाली प्रदेशमा पनि चालु आवको दोस्रो त्रैमासमा कुल चार अर्ब ७३ करोड पाँच लाख १० हजार रुपैयाँ बराबरको कर्जा विपन्न वर्गमा प्रवाह भएको छ। यो कर्जा कुल विपन्न वर्ग कर्जा प्रवाहको एक दशमलव ५६ प्रतिशत हिस्सा हो भने गत आवको सोही अवधिको तुलनामा सात दशमलव ६५ प्रतिशतले बढी हो। गत आवको सोही अवधिमा कर्णाली प्रदेशमा चार अर्ब ३९ करोड ४३ लाख ७० हजार रुपैयाँ बराबरको कर्जा विपन्न वर्गमा प्रवाह भएको थियो।

सुदूरपश्चिम प्रदेशमा पनि चालु आवको दोस्रो त्रैमासिक अवधिमा कुल आठ अर्ब १३ करोड ९३ लाख ५० हजार रुपैयाँ बराबरको कर्जा विपन्न वर्गमा प्रवाह भएको छ। यो कर्जा कुल विपन्न वर्ग कर्जा प्रवाहको दुई दशमलव ६९ प्रतिशत हिस्सा हो भने गत आवको सोही अवधिको तुलनामा चार दशमलव २२ प्रतिशतले कम हो। गत आवको सोही अवधिमा सुदूरपश्चिम प्रदेशमा कुल आठ अर्ब ४९ करोड ८२ लाख रुपैयाँ बराबरको कर्जा विपन्न वर्गमा प्रवाह भएको थियो।

विपन्न वर्गमा प्रवाह भएको कर्जाको स्थिति (रकम रु. १० लाखमा)

(श्रोत: नेपाल राष्ट्र बैंक)