काठमाडौं । रोशी खोलाको जलाधार क्षेत्रमा लगातार वर्षा भइरहेपछि सम्भावित बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै बीपी राजमार्गको काभ्रे खण्डमा सवारी आवागमन अस्थायी रूपमा रोकिएको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेले सूचना जारी गर्दै सडकको अवस्था सुरक्षित रहेको पुष्टि नभएसम्म सवारी आवागमन ‘होल्ड’ गरिएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख रविन कार्कीका अनुसार सडकमार्ग सुरक्षित रहेको पुष्टि भएपछि अर्को सूचना जारी गरी सवारी सञ्चालन पुनः सुरु गरिनेछ।
यसैबीच, कोशी नदीमा पानीको बहाव खतराको सतह नाघेको छ। आज बिहान करिब ६ बजे १ लाख ३१ हजार २०० क्युसेक रहेको बहाव दिउँसो १ लाख ५८ हजार क्युसेकभन्दा बढी पुगेको छ। बढ्दो बहावका कारण कोशी ब्यारेजका ५६ मध्ये १८ वटा ढोका खोलिएको छ भने खतराको संकेतस्वरूप रातो झण्डा र बत्ती बालिएको छ।
जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म ३४ जिल्लाका साना नदी तथा खोलामा आकस्मिक बाढी आउन सक्ने पूर्वानुमान गरेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नदी तथा खोला आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
हाल बागमती र गण्डकी प्रदेशका अधिकांश स्थान तथा अन्य प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ।





