काठमाडौं — नेकपा (एमाले) ले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी प्रतिवेदन तयार गर्ने जिम्मेवारी कार्यदलका संयोजक रामबहादुर थापा ‘बादल’ र सदस्यसचिव शंकर पोखरेललाई दिएको छ।
बिहीबार बसेको थापा नेतृत्वको कार्यदलको बैठकले प्रतिवेदन तयार पार्ने जिम्मा उनीहरूलाई दिने निर्णय गरेको हो।
एमालेले जेठ दोस्रो सातामा पार्टीलाई वैचारिक, राजनीतिक र संगठनात्मक रूपमा सुदृढ बनाउने तथा शुद्धीकरण, रूपान्तरण र पुनर्गठनको कार्ययोजना तयार गर्न थापाको नेतृत्वमा कार्यदल गठन गरेको थियो। कार्यदलले देशका १३ स्थानमा पुगेर नेता–कार्यकर्तासँग सुझाव संकलन गरेको जनाएको छ।
एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार बैठकले सुझाव संकलन कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै कमिटी तथा सुझाव दिने नेता–कार्यकर्ताप्रति धन्यवाद व्यक्त गरेको छ।
बैठकले पार्टीका उपाध्यक्ष तथा कार्यदलका सदस्य विष्णु पौडेललाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको भन्दै त्यसको घोर निन्दा र भर्त्सना पनि गरेको छ।






