काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीलाई गालीगलौज गर्दैमा जेल हालिहाल्नुपर्ने हो भन्दै प्रश्न उठाएका छन् ।

बुधबारको प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्दै उनले प्रधानमन्त्री, मन्त्रीलगायतका पदाधिकारीहरूलाई नियमावलीअनुसार चल्नुपर्ने बताए। उनले सामाजिक सञ्जालमा सुन्न नसक्ने गालीगलौज आइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

‘अब केलाई लोकतन्त्र भन्ने र केलाई अराजकता भन्ने ? यहीँ प्रश्न छ । प्रधानमन्त्रीलाई एकजना व्यक्तिले गाली गर्नुभएछ । उहाँलाई पक्राउ गरेर पुर्पक्षमा पठाइयो भन्ने सुनिएको छ । एउटा नागरिकलाई सच्चिने मौका दिनुपर्छ,’ उनले भने ।

ADVERTISEMENT

हर्कले प्रधानमन्त्री, मन्त्रीहरूलाई गाली गर्दा पक्राउ परिहाल्ने, सांसदहरूलाई गाली गर्दा पक्राउ पर्नुपर्ने कि नपर्ने ? भन्दै प्रश्न गरे। ‘मलाई पनि दुईजना व्यक्तिले ज्यानै मार्ने, मेरो घरै जलाइदिन्छु भन्नेसम्मको अभिव्यक्ति दिनुभयो। मैले साइबर ब्युरोमा रिपोर्ट गरेँ, तर ती व्यक्तिहरू पक्राउ परे जस्तो मलाई लाग्दैन। के आफ्ना समर्थकले जे भन्दा पनि छुट हुन्छ भन्ने हो ?’ उनले भने ।

ADVERTISEMENT

प्रधानमन्त्री बालेन्द्र शाहलाई युट्युबमा गालीगलौजयुक्त सामग्री राखेको आरोपमा पक्राउ परेका पाँचथरको फाल्गुनन्द गाउँपालिका– ७ का रोशन पोखरेललाई जिल्ला अदालत पाँचथरले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ । जिल्ला न्यायाधीश कुमार मास्केको इजालासले बिहीबार यस्तो फैसला गरेको हो ।

ADVERTISEMENT

पोखरेलले प्रधानमन्त्री शाहसहितका नेताहरूलाई अपमानजनक गालीगलौजयुक्त सामग्री युट्युबमा हालेको भन्दै उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय पाँचथरमा विद्युतीय कारोबार ऐनअन्तर्गत जाहेरी दर्ता भएको थियो । अभियोगपत्रमा प्रधानमन्त्री शाह तथा उनको परिवारको मान, सम्मान र प्रतिष्ठामा आँच पुग्ने गरी अपमानजनक तथा अमर्यादित शब्द प्रयोग गरिएको भिडियो, स्टाटस र अन्य सामग्री युट्युब, फेसबुक, इन्स्टाग्राम तथा टिकटकमार्फत प्रसारण गरेको आरोप उल्लेख छ ।

प्रहरीले पोखरेललाई गत २६ चैतमा पक्राउ गरेको थियो । त्यसको केही दिनपछि प्रहरीले आफन्तको जिम्मा लगाएर छाडेको थियो । पोखरेल पक्राउ परेपछि देशभर विरोध भएको थियो । त्यसपछि चर्को आलोचनाका बीच प्रहरीले २९ चैतमा उनलाई परिवारको जिम्मा लगाएको थियो । जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दायर गरेपछि अदालतले उनलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो ।