काठमाडौं । प्रतिनिधिसभाको बैठक बुधबार बिहान ११ बजे बस्ने भएको छ । आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले विभिन्न विधेयक पेस गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।
मन्त्री गौतमले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन २०८१/८२’ र ‘अख्तियार दुरूपयोग अनुसन्धान आयोगको पैतिसौं वार्षिक प्रतिवेदन २०८१/८२’ पेस गर्ने कार्यसूची छ ।
त्यस्तै व्यवस्थापन कार्यअन्तर्गत प्रधानमन्त्रीकै तर्फबाट कानुनमन्त्री गौतमले ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने साथै ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ र ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘पर्यटन विधेयक, २०८२ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।





