इलाम । इलामको माङसेबुङ गाउँपालिका–३ सिम्लेका किसान कृष्ण बुढाथोकीले २३ रोपनी क्षेत्रफलमा अलैँचीखेती लगाएका छन् । तीन वर्षदेखि अलैँचीखेती सुरु गरेका उनले धान फल्ने खेत मासेर अलैँचीखेती विस्तार गरेका हुन् ।

अलैँची बेचेर उनले वार्षिक लाखौँ आम्दानी गर्दै आएका छन् । यस वर्ष मात्र उनले अलैँची बेचेर १७ लाख हात पारे । प्रतिमन (४० किलो) एक लाखका दरले अलैँची बेचेको उनले बताए ।

‘यो वर्ष अलैँचीको उत्पादन राम्रै थियो । भाउ पनि राम्रो पाइयो’, उनले भने, ‘घरैबाट प्रतिमन एक लाखका दरले सुक्खा अलैँची बिक्री गरेर १७ लाख आम्दानी गर्न सफल भएँ ।’ उनले जिर्मले जातको अलैँचीखेती गर्दै आएका छन् । पछिल्लो वर्ष व्यावसायिक अलैँचीखेतीमा लागेका उनले अलैँचीको बजार राम्रो भएकाले विदेश जान छाडेर व्यावसायिक अलैँचीखेतीमा जुटेको बताए ।

ADVERTISEMENT

माङसेबुङ –२ का अर्का किसान गणेश लिम्बूले पनि यस वर्ष अलैँची बिक्रीबाट १६ लाख बढी आम्दानी गरेका छन् । विगत पाँच वर्षदेखि अलैँचीखेती गर्दै आएका लिम्बूले २५ रोपनी क्षेत्रफलको खेत मासेर अलैँचीखेती गर्दै आएका छन् ।

ADVERTISEMENT

‘मैले विगत पाँच वर्षदेखि धान फल्ने खेत मासेर अलैँचीखेती गर्दै आएको छु । यसपटक त भाउ पनि राम्रै आएकाले राम्रो आम्दानी गर्न सफल भएँ’, उनले भने, ‘यो वर्ष थप सात रोपनी क्षेत्रफलमा अलैँचीखेती विस्तार गर्ने तयारी गरिरहेको छु ।’

अलैँची बिक्रीबाट आएको आम्दानीले आफ्नो दैनिक घरव्यवहार खर्च साथै छोराछोरीको पढाइ खर्च व्यवस्थापन गर्दै आएको उनले बताए । अलैँचीखेतीले यहाँका किसानको जीवनस्तरमा परिवर्तन ल्याउन थालेको छ । किसानहरूले व्यावसायिक रूपमा अलैँचीखेती गरी मनग्य आम्दानी गर्न सफल भएका छन् ।

अलैँचीको मूल्य बढेसँगै किसानले धान र अन्य खेती छाडेर पनि अलैँतीखेतीलाई बढाएका छन् । अरु खेतीको दाँजोमा अलैँचीखेतीले नाफा बढी हुने भएकाले पनि यसो खेतीमा किसानको उत्साह बढेको हो । यसअघि ओसिलो पाखाभित्ता र खोलाखोल्सीमा मात्र खेती गरिने अलैँचीलाई पछिल्लो सयम किसानले अन्य अन्न बाली छाडेर खेत र करेसाबारीमा रोप्न थालेका छन् ।