काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आफूमाथि भएको दुर्व्यवहारको भिडियो सार्वजनिक गरेर घटनालाई बाहिर ल्याएकी ऋतु खनालको साहसको प्रशंसा गरेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत घटनाप्रति गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको र आरोपितलाई प्रहरीले पक्राउ गरिसकेको जानकारी दिएका हुन्।
प्रहरीका अनुसार पक्राउ पर्नेमा बैतडीको पाटन नगरपालिका–७ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका–२ इमाडोल बस्दै आएका ५५ वर्षीय सुरेन्द्र भट्ट रहेका छन्। उनलाई ललितपुर जिल्ला प्रहरी परिसरअन्तर्गत प्रहरी वृत्त सातदोबाटोको टोलीले नियन्त्रणमा लिएको हो।
गृहमन्त्री गुरुङले आफ्नो फेसबुक पोस्टमा ऋतु खनालको साहसप्रति सम्मान व्यक्त गर्दै कुनै पनि महिला वा छोरीचेलीमाथि हुने यौन दुर्व्यवहार र उत्पीडन सभ्य समाजका लागि कदापि स्वीकार्य नहुने बताएका छन्। उनले पीडितले न्यायको खोजीका लागि भिडियो सार्वजनिक गर्नुपर्ने अवस्था आउनु आफैंमा चिन्ताजनक भएको टिप्पणी गरेका छन्।
घटनाको भर्त्सना गर्दै गृहमन्त्रीले यौन हिंसाका पीडितलाई नडराई आवाज उठाउन र यस्ता घटना भए तत्काल नजिकको प्रहरी कार्यालयमा उजुरी दिन आग्रह गरेका छन्। साथै, यौन हिंसाविरुद्ध कानुनी कारबाहीलाई प्रभावकारी बनाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।












