काठमाडौं । काठमाडौँको टेकुस्थित नेसनल ट्रेडिङको शाखा कार्यालय परिसरमा खाना पकाउने एलपी ग्यास लिन सर्वसाधारणको लामो लाइन देखिएको छ ।
सोमबार बिहानैदेखि सर्वसाधारण खाली सिलिन्डर बोकेर टेकु पुगेका थिए । एक सिलिन्डर ग्यासका लागि तीनदेखि चार घन्टासम्म उपभोक्ता लाइनमा बस्ने गरेका छन् ।
सुगम ग्यास, नेपाल ग्यास, एभरेस्ट ग्यास, एलपी ग्यास, राजधानी ग्यास र त्रिवेणी ग्यासलगायत विभिन्न कम्पनीका सिलिण्डर हातमा, काँधमा र मोटरसाइकलमा बोकेर नागरिकहरु पालो पर्खिरहेका छन् ।
नेपाल आयल निगमले भने देशमा र विशेषगरी काठमाडौं उपत्यकामा एलपी ग्यासको कुनै अभाव नरहेको र आपूर्ति व्यवस्था पूर्ण रूपमा सहज रहेको दाबी गरेको छ । तर खुद्रा डिलरहरूमा ग्यास नभेटिएपछि रित्तो सिलिण्डर बोकेर टेकु पुगेका सर्वसाधारण भने निगमको दाबी र धरातलीय यथार्थबीच ठूलो अन्तर रहेको बताउँछन् ।
नेसनल ट्रेडिङको शाखा कार्यालय टेकुबाट बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म मात्र ग्यास विक्री–वितरण गर्ने समय तोकिएको छ । मानिसहरु हिलो र घाम–पानीको पर्वाह नगरी लाइनमा उभिएका दृश्यहरु देख्न सकिन्छ ।
निगमकाअनुसार नागरिकले हडबढाएर आवश्यकताभन्दा बढी ग्यास सञ्चय गर्न खोज्दा र स्थानीय डिलरहरुले कृत्रिम अभाव सिर्जना गर्दा समस्या देखिएको हो ।
टेकुमा हजारौंको लाइन छ । कतिपय मानिसहरु सिलिण्डरमै बसेर थकान मेट्दै पालो पर्खिरहेका देखिन्थे । नेसनल ट्रेडिङ टेकु शाखाबाट ग्यास विक्रीका लागि तोकिएको बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्मको ६ घन्टे समयसीमा पर्याप्त नभएको उपभोक्ताको गुनासो छ ।





