काठमाडौं । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रणाली खरिद प्रकरणमा प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा, पूर्वसदस्य धनराज ज्ञवाली र टिकाप्रसाद उप्रेतीलाई दोषी ठहर गरेको छ।

अदालतले दिगम्बर झालाई ६ महिना कैद र ५० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको छ। साथै सार्वजनिक संस्थाको प्रमुख पदमा रहँदा भ्रष्टाचार गरेको ठहर गर्दै उनलाई थप ६ महिना कैद सजायसमेत सुनाइएको छ।

ADVERTISEMENT

यससँगै उनले कुल १ वर्ष कैद सजाय भोग्नुपर्ने भएको छ। त्यस्तै, पूर्वसदस्य धनराज ज्ञवाली र टिकाप्रसाद उप्रेतीलाई जनही ६ महिना कैद र ५० हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाइएको छ।

ADVERTISEMENT

विशेष अदालतका अनुसार टेरामक्स प्रणाली खरिदका क्रममा सम्भाव्यता अध्ययन, विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तथा लागत अनुमान जस्ता अनिवार्य कानुनी प्रक्रिया पूरा नगरी बदनियतपूर्वक खरिद प्रक्रिया अघि बढाइएको पुष्टि भएपछि उनीहरूलाई दोषी ठहर गरिएको हो।