काठमाडौं । नेपाली उमा कुङफु खेलाडी सरिना घलेले बेलायतमा आयोजित डब्लुएमएसी (WMAC) ब्रिटिस च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी छन्।
नेपाल उमा कुङफु संघका अध्यक्ष संजीतकुमार राईका अनुसार सरिनाले महिला क्रिएटिभ फर्म (Creative Form) अन्तर्गत १८ वर्षमाथिको मिक्स बेल्ट स्पर्धामा उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक आफ्नो नाममा पारेकी हुन्।
बेलायतको वोर्चेस्टरमा सम्पन्न प्रतियोगितामा सरिनाले २२.९ अंक प्राप्त गरिन्। उनकी निकटतम प्रतिद्वन्द्वी इङ्ल्यान्डकी अमेलिया पार्किनले २२.८ अंक प्राप्त गर्दै रजत पदकमा सीमित भइन्।
करिब दुई वर्षअघि उच्च अध्ययनका लागि बेलायत पुगेकी सरिनाले अध्ययनसँगै उमा कुङफु प्रशिक्षणलाई निरन्तरता दिँदै आएकी छन्। उनले डिजिटल मार्केटिङमा मास्टर्स अफ साइन्स पूरा गरिसकेकी छन्। साथै उनले लन्डन म्याराथनसहित विभिन्न दौड प्रतियोगितामा पनि सहभागिता जनाउँदै आएकी छन्।
अध्यक्ष राईका अनुसार सरिना अब सेप्टेम्बर २०२६ मा अस्ट्रियामा हुने डब्लुएमएसी विश्व च्याम्पियनसिपको तयारीमा जुटेकी छन्। बेलायतमा हासिल गरेको यो सफलताले आगामी विश्वस्तरीय प्रतियोगितामा पनि उनको प्रदर्शनप्रति आशा बढाएको छ।









