काठमाडौं । एसियाली विकास बैंक (एडीबी) र नेपाल सरकारबीच १६ करोड ५० लाख अमेरिकी डलर (करिब २५ अर्ब रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण सम्झौता भएको छ। एडीबीका अध्यक्ष मासातो कान्दाको नेपाल भ्रमणका अवसरमा सोमबार दुई विकास आयोजनाका लागि उक्त सम्झौतामा हस्ताक्षर गरिएको हो।
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र एडीबी अध्यक्ष कान्दाको उपस्थितिमा भएको कार्यक्रममा अर्थसचिव डा. घनश्याम उपाध्याय तथा एडीबीका नेपालस्थित आवासीय नियोगका देशीय निर्देशक आर्नो कुश्वाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
सम्झौताअनुसार एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका लागि ११ करोड ५० लाख अमेरिकी डलर तथा दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) आपूर्ति व्यवस्थापन सुधार कार्यक्रम–२का लागि ५ करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋण उपलब्ध गराइनेछ।
अर्थ मन्त्रालयका सहसचिव तथा प्रवक्ता अमृत लम्सालका अनुसार खानेपानी तथा ढल व्यवस्थापन परियोजनामार्फत स्थानीय तहमा एकीकृत पूर्वाधार निर्माण गरिनेछ। यस आयोजनाबाट १३ जिल्लाका करिब ८ लाख ५० हजार नागरिक प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ।
यस्तै, दोस्रो आयोजनाअन्तर्गत भन्सार प्रशासनलाई प्रविधिमैत्री बनाउने, जोखिममा आधारित जाँच प्रणाली लागू गर्ने, लजिस्टिक सेवा सुधार गर्ने तथा सीमापार व्यापारलाई थप सहज र प्रभावकारी बनाउने लक्ष्य राखिएको छ। यसले व्यापार लागत घटाउने, आपूर्ति शृङ्खला सुदृढ गर्ने र क्षेत्रीय व्यापार विस्तारमा सहयोग पुग्ने विश्वास गरिएको छ।
सम्झौतापछि आयोजित कार्यक्रममा अर्थमन्त्री डा. वाग्लेले नेपालको आर्थिक तथा पूर्वाधार विकासमा एडीबीको सहयोग महत्वपूर्ण रहेको उल्लेख गर्दै आगामी दिनमा पनि साझेदारी अझ सुदृढ हुने विश्वास व्यक्त गरे।
एडीबी अध्यक्ष मासातो कान्दाले नेपालसँगको करिब ६ दशक लामो सहकार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाउँदै नेपालको विकास प्राथमिकतालाई एडीबीले निरन्तर साथ दिने बताए।











